काठमाण्डौ । नेपालमा एभरेष्ट बैंकको रणनीतिक साझेदार पञ्जाब नेशनल बैंकको एउटा शाखाबाट ११ हजार ३ सय ४० करोड भारु घोटाला भएको घटना सार्वजनिक भएको छ । यो प्रकरणमा मुछिएका बैंकका १० कर्मचारी निलम्बनमा परेका छन् भने भारत र आसपासका देशका बैंकहरुलाई समेत यो प्रकरणका कारण असुरक्षाको चिन्ता बढाइदिएको न्यूज एजेन्सीहरुले जनाएका छन् ।

यो सनसनीपूर्ण खबर सार्वजनिक भएसँगै बैंकको सेयर मूल्यमा बुधबार १० प्रतिशतको गिरावट आएको भारतीय एजेन्सीहरुले जनाएका छन् । बैंकका सचिव राजीव कुमारले यो प्रकरणमा सरकारले छानबिन गरिरहेको र आवश्यक परेको खण्डमा फरेन्सिक अडिटको आदेश समेत जारी हुनसक्ने बताएका छन् । 

कसरी बाहिरियो घटना ?
पञ्जाब नेशनल बैंकले बुधबार स्टक एक्सचेञ्ज बीएसआईलाई यो बिषयमा जानकारी दिएको थियो । यो घोटालामा बैंकका कर्मचारीहरुले केही छानिएका अकाउण्ट होल्डरहरुलाई प्रयोग गरेका देखिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताइएको छ । ती भीआइपी खातामार्फत ११ हजार ३ सय ४० करोड भारु(करिब १.८ अर्ब डलर)को कारोबार भएको थियो । 

बैंकका अनुसार यही कारोबारको आधारमा विदेशमा ती छानिएका अकाउण्ट होल्डर्सहरुले ऋण लिएका समेत देखिएको छ । त्यस्ता अकाउण्ट कति थिए, कति व्यक्तिलाई फाइदा भयो र यो घोटाला गर्ने शैली कस्तो थियो भन्ने बिषयमा धेरै कुरा खुलिनसकेको बताइएको छ । 

बैंकले के कारबाही गर्यो ?
न्यूज एजेन्सीका अनुसार बैंकले यो प्रकरणमा जोडिएका आफ्ना १० कर्मचारीलाई निलम्बन गरिदिएको छ । यो प्रकरण नियन्त्रण भन्दा बाहिर नरहेको दाबी गर्दै बैंकका केही अधिकारीले भने यसलाई निकै ठूलो घटनाको रुपमा लिन नहुने जिकिर गरिरहेका छन् । 

न्यूज एजेन्सीहरुले सूत्रहरुको हवाला दिंदै भने अनुसार भारतका नामी हिरा कारोबारी निरव मोदीको यो प्रकरणमा संलग्नता हुनसक्छ । यस्तै, अर्को एक ज्वेलरी कम्पनी पनि शंकाको घेरामा तानिएको छ । पञ्जाब नेशनल बैंकले सीबीआईलाई मोदी र सो ज्वेलरी कम्पनीको बिषयमा उजुरी समेत दिएको बताइएको छ । १० हजार करोड रुपैयाँको स्याडो कारोबारको बिषयलाई बैंकले प्रमुखताका साथ उजुरीमा समेटेको छ ।

तर, बैंकले बुधबार स्टक एक्सचेञ्जमा दिएको निवेदनमा भने मोदीको नाम उल्लेख छैन । 

स्मरणरहोस्, गत हप्ता मात्र बैंकले निरव मोदी, उनकी पत्नी तथा अर्को एक विजिनेश म्यानविरुद्ध २८० करोड भारु भन्दा बढी घोटालापूर्ण ढंगले अपचलन गरेको आरोप लगाउँदै उजुरी दिएको थियो । यो प्रकरण चाहि २०१७ को थियो । यो बैंकले सोहीबेला केही ज्वेलरी कम्पनी तथा व्यापारीहरुले बैंकका कर्मचारीसँग मिलेर ४.४ करोड डलर बढीको घोटाला गरेको आरोप लगाएको थियो । 

समस्यामा पञ्जाब नेशनल बैंक
लामो समयअघिदेखि निस्क्रिय कर्जाको थुप्रो लागी समस्यामा फस्दै आएको पञ्जाब नेशनल बैंकका लागि नयाँ घोटाला प्रकरण अर्को दशा बन्नसक्ने विश्लेषण गर्न थालिएको छ । डिसेम्बरको अन्तिम त्रैमासमा मात्रै बैंकको निस्क्रिय कर्जा ३४.५ प्रतिशत बढेको थियो । 

क्रेडिट रेटिङ एजेन्सी इक्राको एक रिपोर्टका अनुसार बैंकको एसेट क्वालिटीको समस्या समेत तत्काल समाधान हुने कुनै संभावना देखिएको छैन । त्यो रिपोर्ट भारतका ३० ठूला बैंकका त्यही त्रैमासको परिणामको आधारमा तयार गरिएको इक्राले जनाएको छ । यसमा १७ निजी र १३ सरकारी बैंकको नतिजा सामेल छ । 

यो बैंकको कम्बाइन्ड ग्रस एनपीए एकवर्षअघिको त्यही त्रैमासको तुलनामा ८.३४ प्रतिशतबाट बढेर ९.४५ प्रतिशत पुगिसकेको छ । यही बेला प्राइभेट बैंकको एनपिए अनुपात ४.१ प्रतिशतमा व्यवस्थित छ ।