काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जमा सूचिकृत कम्पनीहरुले लाभांश, हकप्रद वा अन्य कुनै सेयर निश्कासनको सूचना औपचारिक रुपमा बाहिरिनुअघि नै निश्चित व्यक्तिको मिलेमतोमा चुहाएर आफू मालामाल बन्ने धन्दा(इन्साइडर ट्रेडिङ) पछिल्लो समयमा बढ्दो क्रममा छ । इन्साइडर ट्रेडिङको धन्दा नेपालमा पनि गैरकानूनी हो । सयौं साना र पहुँचविहीन लगानीकर्ताको अहित हुने गरी इन्साइडर ट्रेडिङको धन्दा खुलेआम संचालन हुँदा समेत नियामक निकायहरु कुन दूलो पसेका छन् ? पछिल्लो समय एभरेष्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्सले दादागिरी शैलीमा खुलेआम संचालन गरेको इन्साइडर ट्रेडिङको धन्दाको बिषयमा नियामकले आक्रामक रुपमा अनुसन्धान नगर्दा र फितलो बनिदिंदा कयौं साना लगानीकर्ताहरुले यस्तै प्रश्न गरिरहेका छन् । ठूला र बाठा लगानीकर्ताले पछिल्ला यी प्रकरणबाट करोडौं कमाएका छन् भने साना लगानीकर्ता जिल्ल परेका छन् । 

सरसर्ती हेर्दा नियामक निकायहरुको कमजोर भूमिकाकै कारण इन्साइडर ट्रेडिङको धन्दा नेपालमा फस्टाउँदै गएको देखिएको छ । तथ्यहरुले स्पष्ट रुपमा एभरेष्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्स(पछिल्ला उदाहरण)ले सुनियोजित रुपमा बजार प्रभावित गरेका र इन्साइडर ट्रेडिङको धन्दा संचालन गरेका पुष्टि भए पनि त्यसैलाई आधारमा मानेर कारबाही गर्ने तदारुकता नदेखाउनुले पनि कतै यस्ता कम्पनीहरुसँग नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जकै कर्मचारीको त मिलेमतो छैन भन्ने प्रश्न उठेको छ । 

विगत लामो समयदेखि संचालन हुँदै आएको इन्साइडर ट्रेडिङको धन्दामा बोर्ड र नेप्सेका कर्मचारीहरुको समेत संलग्नता हुने गरेको र यही कारण यस्तो धन्दा संचालन गर्नेहरुको मनोबल दिनप्रतिदिन बढ्दै गएको विश्लेषण भइरहेको बेला एभरेष्ट बैंक र नेशनल लाइफको यो पछिल्लो प्रकरणले बोर्ड र नेप्सेप्रति पनि गम्भीर प्रश्न उब्जाइदिएको छ । 

हुन त पछिल्लो कालमा केही कम्पनीहरुले हकप्रद र बोनसको लोभ देखाएर एकाएक बजार मूल्य बढाई पछि चूपचाप बसेर लगानीकर्तालाई उल्लू बनाउँदा समेत नेपाल धितोपत्र बोर्ड वा नेप्से, दुवै निकायले भरपर्दो कारबाही गर्न सकेका छैनन् । लगानीकर्तालाई थाङ्ग्नामा सुताउन माहिर कम्पनीहरुलाई त ठगी धन्दा संचालन गर्न छुट दिने यी निकायले एभरेष्ट बैंक र नेशनल लाइफको धन्दामा छानबिन गर्ला र दोषीलाई कठघरामा उभ्याउला भनेर पत्याउन नसकिने एक लगानीकर्ता बताउँछन् । हकप्रद दिने भनेर साधारणसभाबाट घोषणा गरिसकेर त्यो प्रक्रिया नै सुरु नगरी मर्जरको सम्झौता गरेर लगानीकर्तालाई जिल्लराम बनाउने कम्पनी पनि बजारमा विगतमा देखिए । ती कम्पनीको हकमा नियामकले एक दुईवटा दुर्लभ निर्णय गरे पनि समग्र लगानीकर्ताको हित हुने गरी भित्री धन्दा रोक्ने बिषयमा भने ठोस र प्रभावकारी काम अझै गर्न सकेको छैन । 

ठूला लगानीकर्ता मालामाल
एभरेष्ट बैंकले बम्पर सेयरको अफर ल्याउँदैछ भन्ने सूचना आइतबारदेखि नै चुहावट भएको थियो । एभरेष्ट बैंकको संचालक समिति सदस्य, उच्च तहका कर्मचारी, ठूला लगानीकर्ताको मिलेमतोमा सुनियोजित रुपमा हल्ला फैलाइएको थियो । हल्ला फैलाउनुको एउटै उद्देश्य थियो, ठूला लगानीकर्तासँग रहेको एभरेष्ट बैंकको सेयरको मूल्य बढाउने र महंगो दरमा बिक्री गर्ने । यो खेलमा नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्जले पनि नजरअन्दाज गरिदिंदा ३ हजार ५ सय हाराहारी प्रति कित्ता पर्ने एभरेष्ट बैंकको सेयरको मूल्य ३ हजार ८ सयसम्म पुर्याएर बिक्री गर्ने खेल भयो । यो हिसाबले बुधबार एक दिन मात्रै ठूला लगानीकर्ताले यसरी बजारमा चलखेल गरी ३ करोड बढी कमाए । आइतबारदेखि प्रत्येक दिनजसो बजारमा चलखेल गरी मूल्य बढाउने र साना लगानीकर्तालाई मार पार्ने खेल भयो । तर नियामक निकायहरुले केही बोलेनन् । देखेको नदेखे झै गरे ।

संचारमाध्यमहरुले एभरेष्ट बैंक र नेशनल लाइफ इन्स्योरेन्सले गैरकानूनी ढंगले सूचना पहिला नै चुहाएर इन्साइडर ट्रेडिङको धन्दा संचालन गरेको तथ्यसहित समाचार प्रकाशन गरे पनि ती कम्पनीहरुसँग मिलेमतो रहेका कारण नियामक निकाय कहिले जनशक्ति अभाव, त कहिले अन्य समस्या देखाउँदै आफ्नो जिम्मेवारीबाट पन्छिरहेको छ । 

नभए बुधबार बजार बन्द भएपछि मात्र एभरेष्ट बैंकले बम्पर सेयरको अफरलाई औपचारिक रुपमा सार्वजनिक गरेको हो । आधिकारिक रुपमा त्यो सूचना सार्वजनिक भएपछि बिहीबारदेखि मात्र यो कम्पनीको सेयर मूल्य आकाशिनुपर्ने हो । जबकि बुधबार बजार बन्द हुनुअघि नै आज नै यस्तो घोषणा हुँदैछ भन्नेसम्मको सूचना चुहियो र ३८ करोड बढी एभरेष्ट बैंकको सेयर मात्र किनबेच भयो । सोही दिन नेशनल लाइफको हकमा पनि त्यही भए । सूचना चुहिएकै कारण यो कम्पनीको सेयर मूल्य र कारोबार पनि उच्च बन्यो । यति स्पष्ट तथ्य सामुन्ने हुँदा हुँदै नियामकले चासो नदिनु त्यसै पनि रहस्यपूर्ण छ । 

संवेदनशील बिषय, हलुका जवाफ !
सेयर विश्लेषक अञ्जनराज पौड्यालको भनाईमा पछिल्लो समय सेयर बजारमा इन्साइडर ट्रेडिङको धन्दा फस्टाएको छ । ‘यसरी घोषणाअघि नै सूचना चुहिनु र घोषणा हुँदा चुहिएको सूचनाकै हाराहारीमा हकप्रद, लाभांश आउनु निकै संवेदनशील विषय हो ।’ उनले भने–‘विदेशमा भए यो ठूलो अपराध मानिन्थ्यो, यहाँको कानूनले पनि अपराध त मान्छ, तर कारबाही गर्ने निकाय मौन बस्दा यो धन्दा फस्टाउँदै गएको छ ।’ 

पछिल्लो समय कतिपय कम्पनीले गर्नसक्ने घोषणाको बिषयमा केही साता वा महिनाअघि बजारमा जे हल्ला चल्यो, घोषणा हुँदा पनि ठ्याक्कै त्यही कुरा मिल्ने गरे पनि यस्तो बिषयमा समेत नियामक निकाय गम्भीर नरहेका उनको भनाई छ ।

‘नियामक निकायको यही कमजोरीका कारणले होला पछिल्लो समय स्टक मार्केटमा इन्साइडर ट्रेडिङ ह्वात्तै बढेको छ ।’ पौड्यालले भने–‘वास्तविक सूचना पहिला नै चुहिने कारण घोषणा भइसकेपछि सेयर किन्ने उच्च मूल्यमा परेका छन् भने कतिपयले आधिकारिक घोषणा गरेको दिन समेत उनीहरुको सेयरले बजारमा खासै प्रभाव पार्दैन ।’ 

पौड्यालका अनुसार बजार तथा विभिन्न ठूला कम्पनीहरुको उच्च व्यवस्थापनसँग पहुँच हुने सीमित लगानीकर्ताले मिलेमतोमा इन्साइडर ट्रेडिङ गरी भरपूर फाइदा उठाउने गरेका छन् । यस्तो बेलामा निकै ठूलो कमिसनको खेल पनि हुने गर्छ । ‘यस्तो धन्दाले सबैभन्दा बढी पहुँच नभएका सामान्य लगानीकर्ता मारमा पर्दै आएका छन् ।’ पौड्यालले बिजशालासँग भने–‘मिडियाहरुले समेत हल्लाकै कुरालाई भाइरल बनाउने गरेका देखियो, यो कुरामा मिडिया पनि संवेदनशील बन्नुपर्छ ।’ 

हल्ला चलेको समयमा आएको कुरा र वास्तविक घोषणा हुँदाको तथ्य केलाएर फट्याई गर्ने कम्पनीमाथि नियामकले कडा कारबाही नगरे यस्ता धन्दा नरोकिने पौड्यालको दाबी छ । ‘हल्ला चलेजस्तै वा त्यही हाराहारीमा घोषणा भयो भन्नुको अर्थ सम्बन्धित कम्पनीबाट समयअघि नै सूचना चुहिएको वा सो कम्पनीले सूचनाको सुरक्षा गर्न नसकेको भन्ने प्रष्ट बुझाई हो ।’ उनले थपे–‘यस्ता घटनालाई विशेष प्राथमिकतामा राखेर छानबिन गरिनुपर्छ ।’

नेपाल धितोपत्र बोर्डका प्रवक्ता निरज गिरीले नेपालको सेयर बजारमा इन्साइडर ट्रेडिङ हुने गरेको स्वीकार गर्दै आफूहरुले सो बिषयमा भनेजस्तो गरी अनुसन्धान वा कारबाही गर्न नसकेको बताए । ‘अब हामीले जनशक्ति पनि थपेका छौ, घोषणाअघि नै हुने हल्ला र घोषणा हुँदा ताकाको वास्तविकता हेरेर आवश्यक छानबिन र कारबाही प्रक्रिया अगाडि बढाउँछौ ।’ उनले बिजशालासँग भने ।

उनले नेपालका कतिपय वाणिज्य बैंकका संचालकहरु नै इन्साइडर ट्रेडिङलाई बढावा दिन सूचना चुहाउने खेलमा लाग्ने गरेका उल्लेख गर्दै कुनै बैंकले यस्तो काम गरेन होला भन्न नसकिने बताए । ‘विगतका दिनमा संचालक समितिको बैठक बसेर निर्णय भइसकेपछि शौचालय जाने निहुँमा त्यहाँबाट आफन्तलाई फोन गरी आफ्नो नाममा सेयर खरीद गर्न समेत संचालक सक्रिय रहेका घटना बाहिर आएका थिए ।’ उनले थपे–‘हामी यो बिषयमा गम्भीर छौ ।’ 

र,
यो पनि पढ्नुहोस्  :