काठमाण्डौ । एभरेष्ट बैंकको काठमाण्डौस्थित लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालयका २ कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि कामकाज बन्द भएको छ । 

एभरेष्ट बैंकको मुख्य कार्यालयबाट प्रवाह हुने कामकाज दुई दिनका लागि बन्द गरिएको बैंकले एक सूचनामार्फत जानकारी गराएको छ । 

त्यहाँ कार्यरत सबै कर्मचारीहरुको गत शुक्रबार पीसीआर परीक्षण गरिएको थियो । त्यसको नतिजा आइतबार आएको हो । जसमा २ कर्मचारीमा कोरोना संक्रमण देखिएको थियो । संक्रमण देखिएका कर्मचारीहरु होम आइसोलेसनमा रहेका बैंकले जनाएको छ । 

आफ्ना कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि बैंकले २ दिनका लागि कार्यालयको कामकाज बन्द हुने जनाएको छ । 

बैंक स्रोतका अनुसार लेखा शाखामा कार्यरत कर्मचारी र बैंकका नायव महाप्रबन्धकको गाडी कुदाउने चालकलाई संक्रमण देखिएको हो । 

एभरेष्ट बैंकको केन्द्रीय कार्यालय बुधबार मात्र खुल्ने त्यहाँ कार्यरत कर्मचारीले बताएका छन् । 

यसअघि यो बैंकको वीरगञ्ज, कपिलवस्तु लगायतका शाखाका कर्मचारीहरुलाई समेत कोरोना संक्रमण देखिएको थियो । 

पछिल्लो समय बैंकका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिने क्रम बढेर गएको छ । धेरै भीडभाड हुने क्षेत्र बैंक पनि भएकोले फ्रन्टलाइनमा रहेर ग्राहकको सेवा गर्ने बैंक कर्मचारी अझ धेरै जोखिममा छन् । 

बैंकका कर्मचारीहरुमा भटाभट कोरोना संक्रमण पुष्टि हुन थालेपछि नेपाल राष्ट्रबैंकले आइतबार एक सर्कुलर जारी गरी सकेसम्म घरैबाट काम गर्ने वातावरण बनाउन भनेको छ । यस्तै, कार्यालयमा आएर काम गर्दा समेत आलोपालो सिस्टम लागू गर्न र कम भीडभाड हुने उपायहरु अबलम्बन गर्न भनिएको छ ।