काठमाण्डौ । भारतको पञ्जाब नेशनल बैंकसँगको जोइन्ट भेञ्चरको रुपमा संचालित एभरेष्ट बैंक लिमीटेड कतिपय आफ्ना गलत कामका कारण चर्चामा आइरहन्छ । कहिले नेपालीहरुको बैंक खातासँग सम्बन्धित गोप्य सूचना भारतसम्म पुर्याएको त कहिले रेमिटान्स कारोबारमा दादागिरी देखाएको जस्ता विवादमा यो बैंक मुछिने गरेको छ । कानूनविपरीतका कतिपय कामहरुको बिषयमा नियामकहरुले कस्न नसक्दा यो बैंकको मनपरीतन्त्र अझै उस्तै छ, रोकिएको छैन । 

पछिल्लो समय एभरेष्ट बैंकले आम लगानीकर्ताहरुलाई बेवकुफ बनाउने काम गरेको प्रमाण भेटिएको छ । 

यो बैंकले आफ्नो आधिकारिक वेबसाइटमा राखेको पूूँजीवृद्धिको योजनामा स्पष्ट रुपमा ४५ करोडको एफपीओ निश्कासन गर्ने भनी लेखिएको छ । तर, यो बैंकले हालै नेपाल राष्ट्रबैंकमा बुुझाएको पूँजीवृद्धिको योजनामा एफपीओको प्रस्ताव काटिएको छ । 

राष्ट्रबैंकस्थित एक स्रोतका अनुसार एभरेष्ट बैंकले यसअघि सार्वजनिक गरेको पूँजीवृद्धि योजनामा ४५ करोड रुपैयाँ एफपीओबाट जुटाउने भनिएको छ । तर हालै सम्पन्न बैंकको २२ औं वार्षिक साधारणसभाबाट भने एफपीओको प्रस्तावलाई अगाडि नबढाउने सहमति बनेको थियो । सोही अनुसार आवश्यक प्रक्रिया समेत अगाडि बढाइएको स्रोतको भनाई छ । तर, यो बैंकले एफपीओ जारी नगर्ने प्रक्रिया अगाडि बढाइसक्दा पनि वेबसाइटमा भने ४५ करोड बराबरको एफपीओ जारी गर्ने भनेर लगानीकर्तालाई बेवकुफ बनाइरहेको पाइएको हो । बैंकले आफ्नो वेबसाइटमा राखेको पूँजीवृद्धिको प्रस्ताव तथा रणनीति यस्तो छ :

राष्ट्रबैंक स्रोतका अनुसार एभरेष्ट बैंकले बोनस र हकप्रदबाटै तोकिएको पूँजी वृद्धिको नयाँ प्रस्ताव पेश गरेको छ । साधारणसभामा समेत बोनस र हकप्रदबाटै पूँजी पुर्याउने बिषयमा सहमति बनेको भन्दै यो बैंकले केन्द्रीय बैंकलाई पत्राचार गरिसकेको छ । नेपाल राष्टबैंकले ०७४ असार मसान्तभित्र वाणिज्य बैंकहरुले ८ अर्ब चुक्तापूँजी पुर्याउनुपर्ने नीति बनाएको छ । 

नेपाल स्टक एक्सचेञ्जका अनुसार एभरेष्ट बैंकको अन्तिम सेयर कारोबार मूल्य १९ सयको हाराहारीमा रहेको छ । 

यो बैंकले २ अर्ब पूँजी कुनै बैंकलाई मर्जर गरेर पुर्याउने भनेको छ । तर हालसम्म कुनै पनि बैंक एभरेष्टसँग मर्ज हुन इच्छुक देखिएका छैनन् । यो बैंकले थोरै बोनस दिएर लगानीकर्तालाई थुमथुम्याउने र धेरै प्रतिशत चाहि हकप्रद ल्याउने तयारी थालेको बुझिएको छ ।