काठमाण्डौ । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा सामान्य प्रगति गरेको छ । 

यो बैंकले खूद नाफा २६.२० प्रतिशतले बढाएको हो । अघिल्लो वर्षको तेश्रो त्रैमासमा १ अर्ब २० करोड रुपैयाँ नाफा यो वर्ष बढाएर १ अर्ब ५० करोडको उचाईमा पुर्याएको हो । 

बैंकले सोमबार प्रकाशन गरेको बित्तीय विवरण अनुसार अघिल्लो वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब ८८ करोडमा सीमित संचालन मुनाफा यो वर्ष २ अर्ब ३५ करोड रुपैयाँ पुुगेको छ । 

बैंकले २ अर्ब १६ करोड रुपैयाँमा सीमित खूद ब्याज आम्दानीलाई बढाएर २ अर्ब ६७ करोड पुर्याएको छ । बैंकले यो अवधिमा ९२ अर्ब ८१ करोड निक्षेप संकलन गरी ७३ अर्ब ५५ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो आर्थिक वर्षको यही अवधिमा ७९ अर्ब ८१ करोड निक्षेप संकलन गरी ५९ अर्ब १८ करोड कर्जा परिचालन गरेको थियो । 

यो बैंकको अघिल्लो वर्षको यही अवधिमा ०.६३ प्रतिशत रहेको निस्क्रिय कर्जा(एनपीएल) भने यो वर्ष बढेर ०.६७ प्रतिशत पुुगेको छ । 

बैंकको वार्षिकीकृत प्रति सेयर आम्दानी  ४४.९५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २२०.०४ रुपैयाँ र मूल्य आम्दानी अनुपात ४६.२८ गुणा कायम भएको छ । प्रतिसेयर आम्दानीतर्फ क्षयीकरण भएको छ, कारण अघिल्लो वर्ष यही अवधिमा एभरेष्ट बैंकको प्रति सेयर आम्दानी ६१.४७ रुपैयाँको उचाईमा थियो । 

अघिल्लो वर्षको तेश्रो त्रैमासमा ४ अर्ब ६० करोड रुपैयाँ रहेको चुक्तापुँजी यो वर्षको सोही अवधिमा बढेर ५ अर्ब ४३ करोडको उचाईमा पुुगेको छ ।