काठमाण्डौ । एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडको आर्थिक वर्ष २०७६/७७ मा बीमाशुल्क आर्जनमा भएको प्रगतिको तुलनामा दाबीभुक्तानी निकै बढेको देखिन्छ।

कम्पनीले आइतबार प्रकाशित गरेको गत आर्थिक वर्षको वित्तीय विवरणले यस्तो देखाएको हो। यसले यस्ता कम्पनीहरु व्यापार प्रगतिको हकमा तीव्रगतिमा दाबीभुक्तानी बढ्नु राम्रो संकेत मानिँदैन। 

यो कम्पनीले समीक्षा अवधिमा ४० करोड ५० लाख बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आर्जन ३८ करोड ९२ लाख रुपैयाँ थियो। यसरी हेर्दा बीमाशुल्क आर्जन ४.९७ प्रतिशतले बढेको देखिन्छ। 

समीक्षा अवधिमा कम्पनीले १६ करोड ८९ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष यस्तो दाबीभुक्तानी ११ करोड ८५ लाखमा सीमित थियो। यसरी हेर्दा कम्पनीको दाबीभुक्तानी ४२.५३ प्रतिशतले बढेको देखिन्छ। बीमाशुल्क आर्जनको गतिभन्दा दाबीभुक्तानीको गतिमा तीव्रता देखिनुले यस्ता कम्पनीले गुणस्तरीय बिजनेस गर्न नसकेको देखिने विश्लेषकहरु बताउँछन्। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च बढेर १६ करोड ६० लाख पुगेको छ। अघिल्लो वर्ष यस्तो खर्च १५ करोड ८३ लाख रुपैयाँ रहेको थियो। 

अघिल्लो वर्ष २३ करोड १ लाखमा सीमित बीमा कोषको आकार बढाएर समीक्षा अवधिमा ३२ करोड ६७ पुर्याएको कम्पनीले जगेडा तथा कोषको आकार ११ करोड २५ लाखबाट बढाएर २७ करोड ४५ लाखको उचाइ चुमाएको छ। 

समीक्षा अवधिका कम्पनीले १९ करोड ३१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष खुद नाफा ४ करोड १ लाख रुपैयाँमा सीमित थियो। कम्पनीले खुद नाफा ३८१.५२ प्रतिशतले बढाउन सफल भएको छ। 

कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय १७ करोड ४२ लाख पुर्याएको छ। यस्तो आय अघिल्लो वर्ष ९ करोड ७२ लाखमा सीमित थियो। 

अघिल्लो आर्थिक वर्ष ९० हजार ४५६ वटा बीमालेख जारी गरेको यो कम्पनीले समीक्षा अवधिको वर्षमा ७९ हजार ५०२ बीमालेखमात्र जारी गर्न सकेको देखिन्छ। 

कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १७.३२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) २३ गुणा रहेको छ । प्रतिसेयर नेटवर्थ १५५ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर कुल सम्पत्तिको मूल्य २१६ रुपैयाँ रहेको छ।