काठमाण्डौ । एभरेस्ट इन्स्योरेन्स कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर पूरै बिक्री नभएपछि बाँकी रहेको ५ लाख २९ हजार ७८० कित्ता सेयर आज बुधबारदेखि लिलामीमा राखेको छ ।

गत जेठ १४ गते एभरेस्ट इन्स्योरेन्सले बिक्री खुला गरेको हकप्रद सेयरको बिक्न बाँकी रहेको ६.४४ प्रतिशत सेयर लिलामीमा राखेको हो । कम्पनीले १:३ अनुपातमा १०० रुपैयाँ अंकित दरका ८२ लाख १९ हजार ४७५ कित्ता हकप्रद सेयर निष्कास गरेको थियो । जसमा ७६ लाख ८९ हजार ६५६ कित्ता सेयरमात्र बिक्री भएको छ भने ५ लाख २९ हजार ७८० कित्ता सेयर बिक्री हुन बाँकी छ । बिक्री हुन बाँकी रहेको हकप्रद सेयरमा संस्थापकतर्फ १ लाख ४६ हजार ५७५ कित्ता र सर्वसाधारणतर्फ ३ लाख ८३ हजार २०५ कित्ता रहेको छ ।

लिलामी आवेदनमा लगानीकर्ताले संस्थापकतर्फ न्यूनतम १०० कित्ता र सर्वसाधारणतर्फ न्यूनतम १०० कित्ता वा सोभन्दा बढीका लागि गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने छ । लगानीकर्ताले भदौ ८ गतेसम्म शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ ।

आवेदकले प्रतिकित्ता न्यूनतम रु १०० र सोभन्दा माथि मूल्य अंकित गरी बोलकबोल गर्नुपर्नेछ ।

कम्पनीले हकप्रदबाट ८२ करोड १९ लाख पूँजी जुटाउन खोजेको हो । पूँजी वृद्धिको दवाबमा रहेको यो कम्पनीले अन्य विकल्प छाडेर हकप्रदको बाटो रोजेको हो ।

हाल यो कम्पनीको चुक्तापूँजी २७ करोड ३९ लाख रुपैयाँ रहेको छ । ३०० प्रतिशत हकप्रद निश्कासनपछि चुक्तापूँजी बढेर १ अर्ब ९ करोडको उचाईमा पुग्नेछ ।

यो कम्पनीले यसअघि पनि १०५ प्रतिशत हकप्रद सेयर बिक्री गरेको थियो । कम्पनीले एकपछि अर्को गर्दै ठूलो परिमाणमा सेयरधनीलाई हकप्रदको भारी बोकाएर बिमा समितिले तोकेको चुक्तापूँजी पुर्याउन खोजेको हो ।

हकप्रद सेयरको निश्कासन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमीटेड रहेको छ।