-भक्तराज रसाइली

काठमाण्डौ । स्टक ब्रोकर एसोसिएसनका पूर्वमहासचिव सन्तोष मैनाली ब्रोकर नम्बर ३६ अर्थात् सेक्युर्ड सेक्युरिटिज लिमिटेडका कार्यकारी अध्यक्ष हुन् ।

नेप्सेले दोस्रो लटमा लिएको ब्रोकर लाइसेन्स परीक्षामा सर्वोत्कृष्ट अंक प्राप्त गरेका मैनालीले शंकरदेव क्याम्पसबाट एमबीएस (२०६१/६३) मा गोल्ड मेडलिस्टसमेत हुन् । उनले सीएफए (चार्टर्ड फाइनान्सायिल एनालिस्ट) कोर्ससमेत गरेका छन् । मैनालीले डिग्रीको थेसिसमा इन्डिभिज्युअल इन्भेस्टर बिहेभियर गर्दा ब्रोकर अफिस फिल्ड भिजिट गर्दागर्दै सेयर बजारप्रति अझ बढी झुकाव बढेको भोगाइ सुनाए ।

साथीहरुको गुट पनि ब्रोकर लाइसेन्स लिई पूँजी बजारमा केही गर्ने अठोटका साथ ब्रोकर पेसा अँगाल्न पुगेको मैनालीको भनाइ छ । बिर्तामोड झापा घर भएका उनी हाल टोखा काठमाण्डौका बासिन्दा हुन् ।

सेक्युर्ड सेक्युरिटिज लिमिटेडले २०६५ साल पुस १० गते कम्पनी रजिस्टारको कार्यालयमा दर्ता भई नेपाल धितोपत्र बोर्डबाट २०६८ साल जेठ १२ गते अनुमति पाएको हो । कम्पनी स्थापनाकालमा २९ जना प्रमोटर रहेकोमा हाल २६ जना प्रमोटर छन् । कम्पनीको चुक्ता पूँजी रु. ५ करोड रहेकोमा नेटवर्थ रु. ६ करोड रहेको छ ।

बिर्तामोडको भद्रपुर रोडमा रहेको शाखा कार्यालयमार्फत पनि ब्रोकरेज सेवा दिइरहेको सेक्युर्डमा १८ जना कर्मचारीहरु कार्यरत छन्। कम्पनीले उपत्यकाबाहिर १४ स्थानमा शाखा विस्तारका लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले सीडीएससीबाट २०७१ साल असोज २६ गते अनुमति लिई डीपी सेवासमेत दिइरहेको जानकारी दिएको छ । १० हजार ५४६ जना व्यक्तिगत डिम्याट खाता खोलेकोमा संस्थागततर्फ भने १८ कम्पनीको डिम्याट खाता खोलिएको कम्पनीले जनाएको छ ।

बिहान ९ः४५ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय रहेको सेक्युर्डमा धितोपत्र खरिदबिक्रीका अलावा डिम्याट खाता र लगानीकर्ताहरुलाई होम डेलिभरीको सेवासमेत रहेको छ । निकट समयमा यहाँबाट मार्जिन ऋणको समेत उपलब्ध गराउन लागेकोमा ग्राहकको इच्छा र प्राथमिकता नै प्रधान रहेको मैनालीले बताए ।

सही र यथार्थ मार्गदर्शनसहित चुस्त सेवा र समयमै भुक्तानी व्यवस्था भएकाले सेवा लिन मैनालीले आग्रहसमेत गरे । ग्राहक विस्थापन नभएकाले ग्राहकको अटुट विश्वास रहेको मैनालीको बुझाइ छ ।

कम्पनीले गत वर्षको तेस्रो त्रैमासमा रु. १ अर्ब ५० करोडबराबरको कारोबार गरेकोमा गत आवमा कम्पनीले १९५ कम्पनीका रु. ३ अर्ब ७२ करोडबराबरको कारोबार गरेको जनाएको छ ।

ब्रोकर नम्बर ३६ मा दैनिक २५ जना उपस्थिति हुने गरेकोमा दैनिक कारोबारी करिब ३५ जना रहेका छन् । पछिल्लो तथ्यांकअनुसार ४ हजार १०१ जनाको केवाईसी अपडेट रहेकोमा संस्थागततर्फ १७ कम्पनीको सक्रिय ग्राहक खाता रहेको कम्पनीको दाबी छ ।

आफूलाई टप २५ भित्रको ब्रोकर वा मध्यम किसिमको ब्रोकर भन्न रुचाउने कार्यकारी अध्यक्ष मैनाली पूँजीमा दरिलो भई गुणस्तरीय सेवा प्रवाह गर्दै आएको बताउँछन् । कम्पनीमा ग्राहकको विश्वास जितेर खुद्रा ग्राहकको बाहुल्यता रहेको उनले जानकारी गराए ।

मैनाली आफूले थेसिसका लागि रिसर्च गर्दा र यथार्थ पत्ता लगाउँदा सेयर बजारमा भएको ग्याप धेरै भएको ठहर गर्छन् । पूँजी बजार निखारिन र गर्नका लागि धेरै अवसर देखेकाले समेत ब्रोकर पेसामा आवद्ध भएको उनले सुनाए ।

ब्रोकर कम्पनीहरुले परामर्श सेवा, पोर्टफोलियो व्यवस्थापन, इन्स्योरेन्स एजेन्ट, स्टक डिलरलगायतका कार्यक्षेत्र विस्तार हुनुपर्ने मैनालीको माग छ । ब्रोकर कम्पनीहरुले एडुकेसनल एकेडेमीमार्फत पूँजी बजारबारे शिक्षा बाँड्न पाउनुपर्ने धारणा राख्दै मैनालीले बिजशालासँग भने, ‘ब्रोकरहरुले पूँजीबजारबारे रिसर्च गरेको रिपोर्ट बिक्री गर्न पाउनुपर्छ ।’

कम्पनीले सामान्य स्पष्टीकरणको सामना गर्नुपरे पनि हालसम्म कुनै पनि नियामकीय कारबाही नभोगेको मैनाली दाबी गर्छन् ।

नेप्सेको पुनर्संरचना गर्दै बिजनेस मोडलमा लैजान सकेको खण्डमा पूँजीबजारको विकास र विस्तार हुने तर्क सार्दै मैनालीले भने, ‘प्रविधिमा पनि हामी अपडेटेड हुन जरुरी ठान्छु ।’

पूँजीबजारसँग सम्बन्धित वैज्ञानिक कोर्ष डिजाइन गरी ब्रोकर कम्पनी र मर्चेन्ट बैंकका कर्मचारीहरुलाई समेत लाइसेन्स वितरण गर्न छुट्टै संस्था धितोपत्र बोर्डले खोल्नुपर्ने मैनालीले औंल्याए । पूँजीबजारमा वित्तीय क्षेत्रको मात्र प्रभुत्व रहँदै आएकोमा नयाँ औजारको लन्च गर्नुपर्ने र तत्काले बन्ड मार्केटको व्यवस्था हुन जरुरी रहेको मैनाली ठान्दछन् । इन्ट्राडे कारोबार र इक्विटी बेसका डेरिभेटिभ औजारको व्यवस्थाले बजार विकास र स्थिरता हुने मैनालीको ठम्याइ छ ।

पूँजीबजारको विकासमा मुख्य भूमिका सरकारले नै खेल्नुपर्ने र नियामक स्वतन्त्र भई बजार सचेतनामा सक्रिय हुनुपर्ने धारणा मैनालीको छ । उनी भन्छन्, ‘नयाँनयाँ औजारहरु विकास गर्न नेप्से लाग्नुपर्दछ ।’

मुलुकको विकासका लागि राष्ट्रिय महत्वको स्थल मानिएको पूँजी बजारको महत्व अधिक हुँदाहँदै पनि बजार विश्वसनीय बनाउन आवश्यक रहेको मैनालीको भनाइ छ । बचत, पूँजी निर्माण र पूँजी परिचालनको त्रिपक्षीय आयाम बोकेको पूँजी बजारले अनौपचारिक अर्थतन्त्रलाई औपचारिक अर्थतन्त्रमा ल्याउन सहजता प्रदान गर्ने गरेको मैनालीको बुझाइ छ ।

गरिबी निवारणमा यसले विशेष महत्व राख्ने जिकिर गर्र्दै मैनालीले बजारमा लगानीका अवसर थप्न धेरैभन्दा धेरै कम्पनी भित्र्याउन जोड दिए ।

लगानीकर्ताका आँखामा ब्रोकर नम्बर ३६

उपस्थित लगानीकर्ताहरुले कुनै प्रतिक्रिया दिन चाहेनन् ।