काठमाण्डौ । स्थानीय निर्वाचनको दोश्रो चरण अन्तर्गत आएका मतपरिणामको क्रममा एमालेले क्लीन स्वीप गरिदिएसँगै विभिन्न जिल्लाका माओवादी र कांग्रेसका पार्टी प्रमुखहरुले धमाधम राजीनामा दिन थालेका छन् । 

अरुसँग लड्दै आएको म आज आफ्नैसँग हारेँ । न मैले आफैले जित्न सके, न त पार्टीलाई नै राम्रो नतिजा दिलाउन सकेँ ।

पूर्वी नेपालको धनकुटा जिल्लाका सबै स्थानीय तहमा एमालेले त्रिपक्षीय गठबन्धनलाई समेत पाखा लगाउँदै क्लीन स्वीप गरिदिएपछि सबैभन्दा ठूलो समस्या माओवादीलाई परेको छ । यहीकारण माओवादीका धनकुटा अध्यक्ष हेमराज भण्डारीले पार्टीको जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गरेका छन् । यो क्षेत्रमा राप्रपाको परम्परागत पकड क्षेत्रलाई भत्काएर माओवादीले गर्विलो इतिहास बनाएको थियो । तर, माओवादीको पकड क्षेत्रमै उसले पराजयको नराम्रो स्वाद चाख्नुु परेपछि हारलाई स्वीकार गर्दै भण्डारीले राजीनामा दिएका हुन् । उनले जिल्लामा पार्टी कमजोर हुनुको सम्पूर्ण जिम्मा लिंदै लज्जाजनक हार व्यहोरेपछि पार्टीले दिएको जिम्मेवारीमा रहन उपयुक्त नहुने भन्दै राजीनामा दिएका हुन् । 

उता, पार्टीको लज्जाजनक हार भएपछि नेपाली कांग्रेस गुल्मीका सभापति भूवनप्रसाद श्रेष्ठले समेत पदबाट राजीनामा दिएका छन् । स्थानीय निर्वाचनमा श्रेष्ठ आफैं रेसुंगा नगरपालिकामा मेयर पदमा उम्मेद्वारी दिएका थिए । कांग्रेसको किल्ला मानिएको रेसुुंगामै पार्टी सभापति श्रेष्ठ एमाले उम्मेद्वारसँग पराजित हुनुुपरेको थियो । उनले आफूलाई पार्टीभित्रै गम्भीर असहयोग र धोकाधडी भएको भन्दै सार्वजनिक रुपमै असन्तुष्टि व्यक्त गरेका छन् । जिल्लामा सिंगो पार्टी पराजित भएको र पराजयले पार्टीलाई वर्षौ पछाडि धकेल्ने त्रासमा आफू रहेको समेत उनले बताएका छन् । ''मेरो समृद्ध र सुन्दर रेसुंगा नगरपालिका बनाउने सपनामा तुुषारापात भएको छ ।'' उनले फेसबुुकमा आफ्नो कुरा पोस्ट गर्दै लेखेका छन्-''अरुसँग लड्दै आएको म आज आफ्नैसँग हारेँ । न मैले आफैले जित्न सके, न त पार्टीलाई नै राम्रो नतिजा दिलाउन सकेँ ।''