काठमाण्डौ । एमाले सचिव योगेश भट्टराई अध्यक्ष रहेको मदन भण्डारी अध्ययन केन्द्रको नाममा माधव नेपाल र झलनाथ खनालले मंगलबार र बुधबार काठमाण्डौमा गुटगत भेला गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीको खुलेरै विरोध गरे । पार्टी अध्यक्ष समेत रहेका ओलीकोे तीव्र आलोचना भएको सो भेलापछि एमालेमा भाँडभैलो सुरु भएको छ । बैरीबाट आएको संकट टार्न सफल भए पनि आफ्नै घरभित्रकालाई मिलाउन नसक्दा ओली सरकार नै गम्भीर संकटमा फस्न थालेको छ । तर सबै ठीकठाक अवस्था एकाएक कसरी बिग्रियो होला ? एमालेभित्र खासै ठूला असन्तुष्टि नभए पनि एकाएक गुटगत भेला गर्नुपर्ने र संगठित रुपमै आफ्नै पार्टी अध्यक्ष नेतृत्वको सरकार ढाल्नुपर्ने निश्कर्षमा नेपाल र खनाल पक्ष किन पुग्यो होला ? के हुनसक्छ एमालेभित्र एकाएक मच्चिएको भाँडभैलोको भित्री रहस्य ? यी प्रश्नहरुको उत्तर खोज्दै जाँदा हामीले केही रोचक तथ्यहरु फेला पारेका छौ । 

केही साताअघि भारतीय डिजाइनमा कांग्रेस अग्रसर भई ओली सरकार गिराउन थालिएको प्रयास २४ घण्टामै तुहिएको थियो । एकाएक चिनिया पक्षले काँध थापिदिएपछि र सबै खालका सुरक्षाको ग्यारेण्टी लिने ढाडस दिएपछि ओली र प्रचण्ड एकमुख भएका थिए र तत्काल सरकार गिर्नबाट जोगिएको थियो । सो समयपछि भारतीय रणनीति फेल भएको र अब भारतका खुफियाहरुको नेपालको सत्ता परिवर्तनमा केही नलाग्ने टिप्पणी पनि भइरहेको छ । तर अहिले एमालेभित्र भाँडभैलो मच्चिनु पछाडिको मुख्य कारण भारतको चलखेल नै भएको रहस्य खुलेको छ । भारतीय डिजाइनमै एमालेभित्र भाँडभैलो मच्चाउने कामको सुरुवात गरिएको स्रोतहरुले दाबी गरेका छन् । 

दुई गुप्तचरको काठमाण्डौ दौड
कांग्रेस र मधेशवादीहरुलाई प्रयोग गरेर ओली सरकार गिराउने योजना फेल भएपछि र चिनियाँ पक्ष नेपालको हरेक मामलामा हाबी हुन थालेपछि तर्सिएको भारतले जसरी भए पनि ओली सरकार गिराउँदा मात्र आफ्नो हित देखेर सोही अनुसार योजना बनाएको स्रोतले जनाएको छ । नयाँ योजना अनुसार ओली सरकारलाई २ महिनाभित्र गिराउने म्याण्डेड दिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुई गुप्तचरहरुलाई साताअघि काठमाण्डौ पठाएका छन् । स्रोतका अनुसार अघिल्लो बिहीबार जेट एयरको बिमानबाट साँझपख भारतका खुंखार गुप्तचर र कुशल खेलाडी मिस्टर जोशी र मिस्ट धारिवाल काठमाण्डौ उत्रिएका थिए । २ महिना काठमाण्डौमा बस्ने र सबै शक्तिकेन्द्रहरुलाई खेलाएर, पैसाको खोलो बगाएर, सत्तासीनहरुलाई फुटाएर वा जस्तोसुकै रणनीति अंगिकार गरेर भए पनि ओली सरकार गिराउने म्याण्डेडसहित आएका यी दुई भारतीय गुप्तचर राजधानीको बत्तीसपुतलसीस्थित द्वारिकाज होटलमा बसेर भेटघाटलाई तीव्र पारेका छन् ।

उच्च स्रोतका अनुसार उनीहरुको यो बीचमा कांग्रेस सभापति शेरबहादुर देउवा, महामन्त्री सशांक कोइराला, एमालेका वरिष्ठ नेताहरु माधवकुमार नेपाल, झलनाथ खनाल लगायतसँग पटक–पटक भेटघाट भइसकेको छ । ‘विशेष मिसनमा आएका भारतीय गुप्तचरहरुले सत्तासीन पार्टीमा खेल्न सुरु गरिसकेका देखिएको छ ।’ स्रोतले भन्यो–‘उनीहरुको योजना बजेटपछि ओली सरकारलाई चौतर्फी अप्ठ्यारोमा पार्ने र जसरी भए पनि सरकार गिराउने रहेको छ ।’ 

यस्तो छ एमाले फुटाउने योजना
भारतीय गुप्तचरहरुले ओली सरकार गिराउने मुख्य हतियार नै एमालेलाई फुटाउनु रहेको निश्कर्ष निकालेका स्रोतको दाबी छ । यही निश्कर्ष अनुसार उनीहरुले सबै संयन्त्र र शक्ति प्रयोग गरी एमालेमा खेल्ने कामको सुरुवात गरेका छन् । स्रोतहरुले एमालेभित्र पछिल्लो समय एकाएक मच्चिन थालेको भाँडभैलो र हुन थालेको गुटगत भेलालाई ‘गुप्तचरहरुले थालेको खेलको प्रारम्भिक परिणामको संकेत’ पनि भनेका छन् । गुप्तचरहरुले स्पष्ट रुपमा संसदमा प्रतिनिधित्व गर्ने एमाले सांसदहरु को–कतातर्फका भनेर सूचि नै तयार पारिसकेका छन् । ‘उनीहरुको विश्लेषणमा माधव नेपाल र झलनाथ खनाल पक्षका सांसदको संख्या ८० पुग्छ भन्ने छ ।’ स्रोतले भन्यो–‘ती ८० सांसदलाई ठूलै रकमले किनेर भए पनि वा नेपाल–खनाल गुटलाई ओलीबाट फूटाएरै भए पनि एमाले छिन्नभिन्न पार्ने र ओली सरकार गिराउने भारतीय योजना छ ।’ 

यो बीचमा उनीहरुले एमालेका नेपाल–खनाल निकटका केही युवा नेताहरुलाई समेत दूतको रुपमा प्रयोग गरिरहेका स्रोतको दाबी छ । 

यो बीचमा  भारतीय गुप्तचरहरुले नेकपा माओवादी केन्द्रका केही नेताहरु, राप्रपा नेपाल, राप्रपाका केही नेताहरुलाई समेत भेट गरिसकेका छन् । मधेशवादीहरुलाई हातमै लिएका गुप्तचरहरुको योजनामा कांग्रेसका नेताहरुले गोप्य रुपमा सहयोग गरिरहेका र उनीहरु समेत गुप्तचरकै योजना अनुसार २ महिनाभित्र ओली नेतृत्वको सरकार गिराउने खेलमा लागेका स्रोत बताउँछ । 

आइजी परिवर्तनको खेल रोकिदिए
तपाई आश्चर्य नमान्नुहोस्, नेपाल प्रहरीका महानिरीक्षक उपेन्द्रकान्त अर्याललाई जसरी भए पनि गलहत्याउने खेल अन्तिम चरणमा पुगेको थियो । क्लाइमेक्समा पुगेको र मन्त्रीपरिषदबाटै उनलाई हटाउनसक्ने निर्णय हुने अधिक संभावनाकै बीच यो प्रकरण किन एकाएक सेलायो होला ? आश्चर्य नमान्नुहोस्, यसमा समेत दिल्लीबाट काठमाण्डौ उत्रिएका मिस्टर जोशी र मिस्टर धारिवालले नै भूमिका खेलेका रहस्य खुलेको छ । उनीहरुले नेपाल प्रहरीको नयाँ आइजी हुने दौडधूपमा लागेका प्रतापसिंह थापा र सुरेन्द्रबहादुर शाहलाई भेट्न बोलाएरै सातो लिएका स्रोतको दाबी छ । ‘खुराफात बढी नगर, सचेत भएर चूपचाप बस ।’ ती दुई प्रहरी अधिकारीलाई गुप्तचरले भनेको कुरा उद्धृत गर्दै स्रोतले भन्यो–‘तिमीहरु अहिले जसरी आउन खोजिरहेका छौ, त्यो गलत छ, यो सरकार नै अब रहँदैन, जसरी आउँछौ, नयाँ सरकारले फेरि त्यसैगरी तिमीलाई घर पठाइदिन्छ ।’ 

प्रहरी अधिकारीहरुसँगको भेटमा भारतीय गुप्तचरका नाइकेहरुले आफूहरुको कुरा नमाने थापा र शाहलाई अख्तियार लगाइदिने धम्की समेत दिएका स्रोत दाबी गर्छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीलाई रायमाझी आयोगले जनआन्दोलनको मुख्य दोषी किटान गर्दा गर्दै पनि आयोगमा ल्याउनु पछाडि रअ प्रमुख आलोक जोशीको मुख्य हात रहेको विश्लेषण हुने गर्छ । भारतीय गुप्तचरहरुले समेत यही कुरा दोहोर्याउँदै थापा र शाहलाई तर्साएका र उनीहरुले समेत तत्कालका लागि आइजीको दौड छाडिदिएका स्रोत बताउँछ । ‘जागिर छाड्नुपर्ने अवस्थामा पुगेका आइजीपी अर्यालको जागिर गुप्तचरकै भूमिकाका कारण एकाएक जोगिएको छ ।’– स्रोतले भन्यो । 

चीनलाई देखाइदिने रणनीति
पछिल्लो समय ओली सरकार गिराउने भारतीय खेललाई असफल बनाउन चिनिया अधिकारीहरुले महत्वपूर्ण भूमिका खेलेका थिए । भारतलाई गतिलो झापड दिएपछि ओली समेत चीन भ्रमणको क्रममा आफूले गरेको पारवहन लगायतका सम्झौताहरुको कार्यान्वयनमा आक्रामक भएर लागिपरेका छन् । चिनियाँ पक्षले समेत ओलीलाई साथ दिइरहेको देखिन्छ । भारतको सरकार गिराउने खेल असफल भएलगत्तै चिनियाँ विज्ञहरुको टोली आएर नेपालका विभिन्न क्षेत्रमा रहेका पेट्रोल तथा इन्धनको खानीहरुको स्थलगत अध्ययन समेत थालेको छ । नेपालमा चिनियाँहरुको लर्को लाग्न थालेपछि र यहाँ रहेको अथाह खनिज तथा इन्धनहरुको उत्खनन् हुने भएपछि भारत अत्तालिएको छ । कारण, भारत वर्षौदेखि नेपालको पेट्रोल खानी, खनिज र इन्धन खानीको उत्खनन् नहोस् भन्ने पक्षमा छ । चिनियाँ सहयोगमा यी वस्तुहरुको उत्खनन् भए नेपाल समृद्ध हुनेछ र नेपालीहरुमा समेत भारत भन्दा चीनप्रतिको सदाशयता बढ्ने र यसले भारतलाई दक्षिण एशियामै कमजोर पार्ने मोदीको बुझाई छ ।

त्यसो त भारतीय खुफिया एजेन्सीहरुले काठमाण्डौका मुख्य होटल तथा शहरी क्षेत्रमा चाइनिजहरुको उपस्थिति बढ्न थालेको र नेपाल साच्चिकै भारतको एकछत्र कब्जाबाट उम्किइरहेको रिपोर्ट नयाँदिल्लीमा पेश गरिरहेका छन् । यो सबै घटनाक्रमको मुख्य जड भारतविरोधी नेताको रुपमा प्रस्तुत भएका केपी ओलीलाई नै भारतले देखेको छ र यही कारण समेत पहिलो कदम नै ओली सरकार जसरी भए पनि गिराउने भारतीय रणनीति रहेको स्रोत र विश्लेषकहरु बताउँछन । ओली सरकार गिराउने खेलका लागि भारतले अरबौं रकम खर्च गर्ने तयारी समेत गरेको स्रोतको दाबी छ । त्यसो त भारतीय रणनीति फेल गराउने क्रममा चिनियाँ पक्षले समेत अर्बौ रुपैयाँ खर्च गरेको सत्तासीन दलका नेताहरुबीच चर्चा हुने गर्छ । भारतीय रणनीतिलाई फेल खुवाउन र ओली सरकारलाई टिकाइराख्न नेपालका लागि चिनिया राजदूत सहितका उच्च अधिकारीहरु ४८ घण्टासम्म ढुक्कै बालुवाटार नै बास बसेका थिए ।