काठमाण्डौ । एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच एकीकरण गरी एउटै पार्टी बनाउने सहमति भएको छ । सँगै, यी तीन दलबीच पार्टी एकताका लागि समय लाग्ने भएकोले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा तालमेल गरेर अगाडि बढ्ने सहमति समेत बनेको छ । 

मंगलबार काठमाण्डौको राष्टिय सभागृहमा संयुक्त पत्रकार सम्मेलन गरी तीन दलबीच पार्टी एकीकरण गरी एउटै कम्युनिष्ट पार्टी बनाउने, सन्निकट दुवै चुनावमा तालमेल गरी अगाडि बढ्ने लगायत ६ बुँदे सहमतिपत्र सार्वजनिक गरिएको छ । 

सहमतिपत्रमा एमाले अध्यक्ष केपी ओली, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नयाँशक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले हस्ताक्षर गरेका छन् । 

तीन पार्टीबीच निकै लामो छलफलपछि पार्टी एकीकरण गरी एउटै कम्युनिष्ट पार्टी बनाउने उद्देश्यले हाललाई ८ सदस्यी पार्टी एकता संयोजन समिति गठनको निर्णय भएको छ । समितिमा एमालेको तर्फबाट ४, माओवादीको तर्फबाट ३ र नयाँ शक्तिको तर्फबाट १ जना रहनेछन् । सो समितिको प्रमुख नेताको भूमिकामा ओली र प्रचण्ड रहने सहमति बनेको छ । 

एकीकृत पार्टीको नीति कार्यक्रमको घोषणापत्र र विधान तयार गर्न तीनवटै पार्टीका प्रतिनिधि सम्मिलित दस्तावेज मस्यौदा समिति गठन गर्ने, प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचपछि विधिवत रुपमा पार्टी एकतालाई टुंगोमा पुर्याउने सहमति भएको छ । 

तीन पार्टी बाहेक आगामी २ चुनावमा तालमेलका लागि लोकतान्त्रिक शक्तिहरुलाई समेत समाहित गराउने र ती साना शक्तिलाई दुवै निर्वाचनमा आवश्यक सिट दिएर बाँकी रहेको सिटमा एमाले र माओवादीले ६० र ४० को अनुपातमा निर्वाचन क्षेत्रमा उम्मेद्वार उठाउने निर्णय समेत गरिएको छ । 

दुवै निर्वाचन क्षेत्रमा तीनवटै पार्टीले साझा घोषणापत्र बनाउने सहमति समेत गरेका छन् । त्यसका लागि तीनै पार्टीका नेता सम्मिलित प्रतिनिधिसभा निर्वाचन घोषणापत्र मस्यौदा समिति समेत गठन गरिएको छ । 

तीन पार्टीबीचको सहमति यस्तो  छः