नयाँ दिल्ली (रासस/एएनआई) । भारतको राष्ट्रिय ध्वजावहाक हवाई सेवा कम्पनी एयर इन्डियाले आफ्नो सेवालाई प्रभावकारी बनाउन नमस्कार सेवा सुरु गरेको छ । 

नयाँ दिल्ली विमानस्थलमा यात्रुहरुका लागि नमस्कार सेवा सुरु गरेको अधिकारीहरुले जानकारी दिएका छन् । 

नमस्कार सेवा अन्तर्गत विमान कम्पनीका कर्मचारीहरुले विमानस्थलमा भेटिएका आफ्ना ग्राहकहरुलाई भेट्ने, नमस्ते गर्ने, राम्रो व्यवहार गर्नेलगायत रहेको छ । 

कर्मचारीहरुले विमानस्थलमा प्रवेशदेखि जहान नचढेसम्म उनीहरुलाई उच्च सम्मान गर्ने कम्पनीले जनाएको छ । 

त्यसैगरी यात्रुहरुलाई फाराम भर्न, सामान लैजान, वोर्डिङ पास उपलब्ध गराउनलगायतका अन्य आवश्यक सम्पुर्ण कार्यहरु कर्मचारीहरुले नै गरिदिने भएका छन् । 

नमस्कार सेवा अन्तर्गतका यी सेवाहरु प्रदान गरे वापत न्युनतम शुल्क पनि तोकेको कम्पनीले जनाएको छ । 

पछिल्लो तथ्याङ्क अनुसार गत अप्रिलदेखि जुनसम्ममा यस विमान कम्पनीबाट ८० लाख यात्रुले आन्तरिक र ३५ लाख यात्रुले अन्तर्राष्ट्रिय सेवा प्राप्त गरेका छन् ।