काठमाण्डौ । फ्रान्समा मुख्यालय रहेको विश्वप्रसिद्ध हवाईजहाज निर्माता कम्पनी एयरबसले सन् २०१९ मा आफ्नो खूद घाटा १ अर्ब ३६ करोड युरो पुगेको बिहीबार जनाएको छ ।

घुसखोरी काण्ड बापत भुक्तानी गर्नु परेको ३ अर्ब ६० करोड युरो जरिवाना तथा ए४००एम मोडेलको नयाँ विमान निर्माणमा भएको अतिरिक्त लगानीका कारण कम्पनीले ठूलो नोक्सानी व्यहोर्नु परेको हो ।

कम्पनीले आफ्नो सञ्चालन खर्चमा भने करिब ७ अर्ब युरो नाफा भएको जनाएको छ । सन् २०१९ मा ८६३ वटा बिमान बिक्री गरेको एयरबस कम्पनीले सन् २०२० मा भने करिब ८८० वटा व्यावसायिक बिमान बिक्री गर्ने योजना बनाएको छ । “हामीले सन् २०१९ मा राम्रै प्रगति गरेका हौं । हामीले व्यावसायिक बिमान निर्माणका क्षेत्रमा उल्लेखनीय कार्य गरेका छौं, र ग्राहकको विश्वास जित्न सफल भएका छौं” -एयरबसका प्रमुख कार्यकारी अधिकृत गिलम फरीले बताउनुभयो ।

एयसबसले बिमान बिक्री गर्ने सन्दर्भमा भएको भ्रष्टाचारको छानबिन टुङ्ग्याउन बेलायत, फ्रान्स र संयुक्तराज्य अमेरिकालाई ३ अर्ब ६० करोड युरो भुक्तानी गर्न सहमति जनाएको छ ।- रासस/एएफपी