काठमाण्डौ। महामारीका रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण हवाईयात्रुको चाप घटेसँगै विश्वभरका एयरलायन्स कम्पनीहरुमा कार्यरत लाखौँ कर्मचारीको जागिर संकटमा परेको छ।

केही एयरलायन्स कम्पनीहरुले कर्मचारी समायोजनका नाममा न्यून तलब भुक्तानीमा बिदा र तलब नपाउने गरी छुट्टी दिने व्यवस्था मिलाइसकेका छन्। यद्यपि कर्मचारीहरुलाई स्थायी रुपमा हटाइएको भने होइन। ‘एयरलाइन्स कम्पनीहरुले अहिलेको अवस्थामा अस्थायी रुपमा कर्मचारीहरुलाई हटाउने निर्णय लिनु उत्तम विकल्प हो’, अमेरिकाको एयरलायन्स परामर्शदाता माइकल ब्वाइड भन्छन्।

कोरोनाभाइरसका कारण हङकङमा रहेको क्याथे प्यासेफिकले आफ्नो ४० प्रतिशत उडान अस्थायी रुपमा स्थगित गरेको छ। उनले आफ्ना ३३ हजार कर्मचारीलाई जुन महिनाको अन्त्यसम्म बेतलबी बिदा दिएको छ। क्याथेले यसअघि पनि हङकङमा जारी सरकारविरोध प्रदर्शनका कारण आफ्नो व्यापारमा ठूलो घाटा व्यहोर्नुपरेको थियो।

लुफ्थान्साले पनि आफ्नो आम्दानीमा ५० प्रतिशतको गिरावट आएको तथ्य सार्वजनिक गरेको छ। उसले पनि कोरोनाभाइरसलाई मध्यनजर गर्दै केही कर्मचारीको काम गर्ने समय घटाएको छ भने केही कर्मचारीलाई बेतलबी बिदा दिएको छ।

क्याथे एयरलायन्सजस्तै पूर्ण रुपमा अन्तर्राष्ट्रिय उडानमा निर्भर दुबईमा रहेको इमरेट्स पनि यतिबेला कोरोनाको कहरमा परेको छ। यो कम्पनीले आफ्ना कर्मचारीहरुलाई बिदामा बस्न निर्देशन दिइसकेको छ। ‘हामी यो भाइरसको प्रभावबाट आफ्ना कार्यदललाई सुरक्षित राख्न तत्पर छौँ तर यदि कोही कर्मचारी बेतलबी बिदामा बस्न चाहन्छन् भने हामी एक महिनासम्म बिदा दिन तयार छौँ’, कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

यसअघि युनाइटेड एयरलाइन्स र जेटब्लू दुवैले आफ्ना उडान तालिका घटाउनुका साथै कर्मचारी समायोजन गरिसकेका छन्। युनाइटेडले २० प्रतिशतले अन्तर्राष्ट्रिय उडान घटाएको छ भने जेटब्लूले ५ प्रतिशतले घटाएको छ।

इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसनका अनुसार हाल विश्वका एयरलायन्स कम्पनीहरुमा २.९५ मिलियन कर्मचारी कार्यरत छन्। तीनमध्ये ४ लाख ६२ हजार कर्मचारी अमेरिकामा कार्यरत छन्। यदि एयरलायन्स कम्पनीहरुमा ५ प्रतिशतले रोजगार घट्दा करिब १ लाख ५० हजार कर्मचारीले जागिर गुमाउने सम्भावना छ। यसमा पनि अमेरिकामा मात्रै २० हजार कर्मचारीको जागिर संकटमा रहेको एसोसिएसनले जनाएको छ। – एजेन्सी