काठमाण्डौ । भारतको राष्ट्रियध्वजावाहक हवाई सेवा प्रदायक कम्पनी एयर इन्डियाले भविष्यमा पाँचवटा देशहरुमा आफ्नो उडान सेवा बन्द गर्ने निर्णय गरेको छ। यसका साथै ती देशहरुमा कम्पनीका कार्यालयहरु पनि बन्द गरिने बताइएको छ।

निरन्तर बढिरहेको घाटाका कारण कम्पनीले यस्तो निर्णय लिनुपरेको जनाएको छ। कम्पनीले कोपनहेगन (डेनमार्क), मिलान (इटली), स्टकहोम (स्विडेन), म्याड्रिड (स्पेन) र भियना (पोर्चुगल) मा आफ्ना सेवा बन्द गर्नुका साथै कार्यालय पनि बन्द गर्ने निर्णय गरेको हो। भारतमा अहिले एक तिहाइ क्षमताका साथ घरेलु उडान सुचारु रहे पनि अन्तर्राष्ट्रिय उडान भने बन्द अवस्थामै रहेको छ। 

पहिलेदेखि नै आर्थिक समस्यासँग जुधिरहेको भारतको सरकारी हवाई सेवा कम्पनीले यी पाँच देशमा आफ्नो सेवा बन्द गर्दै त्यहाँ रहेका कर्मचारी फिर्ता बोलाउने निर्णय गरेको छ। 

एयर इन्डिया करिब भारु ७० हजार करोडको भारी ऋणमा डुबेको छ। यस्तोमा कम्पनीले आफ्नो सञ्चालन खर्चलाई निरन्तर रुपमा घटाउने योजना बनाएको छ। हालैमात्र कम्पनीले आफ्ना कर्मचारीलाई पाँच वर्षको बेतलबी बिदामा घर पठाउने निर्णय गरेको थियो। यसका साथै कर्मचारीलाई प्रदान गरिने सेवासुविधामा पनि ५० प्रतिशतको कटौती गरेको थियो।   

कोरोना महामारीका कारण विश्वभरका हवाई सेवा प्रदायक कम्पनीहरुले ठूलो घाटा व्यहोर्नुपरेको छ। अन्तर्राष्ट्रिय हवाई यातायात संगठनले जुलाई महिनामा विश्वस्तरमा हवाई यात्रुहरुको संख्या कोरोनाभन्दा अघिको स्तरमा पुग्न कम्तीमा पनि ४ वर्ष लाग्ने अनुमान लगाएको थियो। अर्थात सन् २०२४ सम्म अन्तर्राष्ट्रिय यात्रुको संख्या वृद्धि हुन मुश्किल पर्ने देखिन्छ। 

संगठनले २०२० मा अघिल्लो वर्षको तुलनामा ५५ प्रतिशत हवाई यात्रु घट्ने अनुमान लगाएको छ। – एजेन्सी