काठमाण्डौ । भारत तथा नेपालको बिमा क्षेत्रको दिग्गज कम्पनी एलआइसी इण्डियाले निकै ठूलो आकारको आइपीओ निश्कासन गर्ने भएको छ । 

भारतीय एजेन्सीहरुले त्यहाँको वित्त मन्त्रालयस्थित स्रोतलाई उद्धृत गर्दै जनाएअनुसार आगामी वित्त वर्षको दोश्रो अर्धवार्षिक अवधिमा एलआइसी इण्डियाको आइपीओ निश्कासन भई बजारमा सूचिकृत भइसक्ने संभावना अधिक छ । 

वित्त सचिव राजीव कुमारले यो कुरालाई पुुष्टि गरेका इकोनोमिक टाइम्सले जनाएको छ । त्यहाँकी वित्तमन्त्री निर्मला सीतारमणले शनिवार २०२० २१ को बजेट पेश गर्ने क्रममा एलआइसीको आइपीओ जारी गर्ने घोषणा गरेकी थिइन् । 

एलआइसी इण्डियामा भारत सरकारको स्वामित्वमध्ये १० प्रतिशतको हाराहारीको स्वामित्व सर्वसाधारणमा आइपीओको रुपमा जारी हुनसक्ने संभावनारहेको राजीव कुमारले बताएका रिपोर्टमा उल्लेख छ। 

भारतले आगामी वित्त वर्षमा २.१० लाख करोड भारु बराबरको स्रोत जुटाउने घोषणा गरेको छ । सरकारको लक्ष्य एलआइसी इण्डिया र आइडीबीआई बैंकमा आफ्नो हिस्सा बिक्री गरेर ९० हजार करोड भारु जुटाउने रहेको बताइएको छ । 

यसैबीच, एलआइसीको आइपीओ आउने चर्चासँगै यसलाई साउदी अरबको आरम्को कम्पनीको आइपीओसँग तुलना गर्न थालिएको छ । 

विश्लेषकहरुले पैसा जुटाउने सवालमा एलआइसीको आइपीओ साउदीको अराम्कको आइपीओ झै महत्वपूर्ण हुने दाबी गरेका छन् । 

गएको डिसेम्बरमा साउदी अरबको ठूलो तेल कम्पनी अराम्कोले आइपीओ जारी गरी १.८२ करोड भारु बराबरको रकम जुटाएको थियो । सोही हिसाबले एलआइसीको आइपीओबाट ५० हजार करोड भारुभन्दा अधिक रकम सरकारले जुटाउन सक्छ । यदि यस्तो भयो भने यो भारतीय कम्पनीका लागि समेत नयाँ रेकर्ड र चुनौति हुनेछ । 

एलआइसी इण्डियाको आइपीओ जारी भइसकेपछि यो कम्पनी भारतीय सेयर बजारमा रिलायन्स इण्डस्ट्रिज लिमीटेडलाई पछार्दै देशकै सबैभन्दा ठूलो सूचिकृत कम्पनी बन्नेछ । यसको बजार पूँजीकरण करिब १० लाख करोड भारु बराबरको हुने बताइएको छ । 

भारतको सेयर बजारमा यो दशककै सबैभन्दा ठूलो आइपीओ पनि एलआइसीकै हुने दाबी गरिएको छ । 

हाल एलआइसी ३० लाख करोड भारु बराबरको मूल्य भएको कम्पनी हो । 

एलआइसी इण्डिया भारतको ६० वर्ष पुरानो सरकारी बिमा कम्पनी हो । भारतको बिमा बजारको ७० प्रतिशत बढी क्षेत्रमा एलआइसीको कब्जा छ । त्यहाँको सरकारको भरोसायोग्य साथीको रुपमा समस्या परेको बेला एलआइसीले निकै ठूलो सहयोग गर्ने गरेको बीबीसीले उल्लेख गरेको छ ।