काठमाण्डौ । भारतीय जीवन बीमा निगमको संयुक्त लगानीमा स्थापित लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड (एलआईसी) को स्वामित्वमा रहेको नागरिक लगानी कोष (सीआईटी) को संस्थापक समूहको ५० हजार कित्ता सेयर आज मंगलबारदेखि लिलामी प्रक्रियाबाट बिक्री खुलाएको छ ।

सेयर खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले प्रतिकित्ता १ हजार ५२५ रुपैयाँमा नघट्ने गरी गोप्य शिलबन्दी बोलपत्र आवेदन पेस गर्नुपर्नेछ । नागरिक लगानी कोषको हिजो सोमबार अन्तिम सेयरमूल्य प्रतिकित्ता १ हजार ७७१ रुपैयाँ रहेको छ ।

सेयर खरिद आवेदन कात्तिक १८ गतेसम्म पेस गर्नुपर्नेछ । आवेदकले न्यूनतम १०० वा सोभन्दा माथि १० ले भाग जाने गरी अधिकतम ५० हजार कित्तासम्मका लागि बोलपत्र पेस गर्न सक्नेछन् ।

लिलामी सेयरको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल एसबीआईको काठमाण्डौको हात्तीसारस्थित कार्यालय, लाइफ इन्स्योरेन्स कर्पोरेसनको काठमाण्डौँको पुतलीसडकस्थित केन्द्रीय कार्यालय र नेपाल एसबीआई बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, दाङ, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरबाट पनि खरिद आवेदन दिन सक्नेछन् ।