काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरशेन (नेपाल) लिमिटेडले आफ्नो स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक सेयर आज सोमबारदेखि लिलामी प्रक्रियाबाट बिक्री खुलाएको छ।

लाइफ इन्स्योरेन्सले आफ्नो स्वामित्वमा रहेको ५० हजार कित्ता संस्थापक सेयर लिलामी प्रक्रियाबाट बिक्री गर्न लागेको हो।

लिलामी सेयरको न्यूनतम मूल्य प्रतिकित्ता १ हजार ४९५ रुपैयाँ तोकिएको छ । आवेदकले न्यूनतम मूल्य वा सोभन्दा बढी मूल्य तोकेर बोलपत्र पेस गर्नुपर्नेछ । आवेदकले न्यूनतम १०० कित्ता वा सोभन्दा बढी अधिकतम सबै कित्ताका लागि बोलपत्र पेश गर्न सक्ने छन् ।

बोलपत्र पेश गर्न इच्छुक बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीहरुले नेपाल एबीआई मर्चेन्ट बैंकिङ लिमिटेड, लाइफ इन्स्योरेन्सको केन्द्रीय कार्यालय र नेपाल एसबीआई बैंकका विभिन्न शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । लिलामीमा राखिएको सेयर खरिदका लागि पुस ७ गतेसम्म बोलपत्र पेस गर्न सकिनेछ ।

सेयर बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेन्ट बैंकिङ लिमिटेड रहेको छ ।