काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बिमा शुल्क आर्जन ३०.२२ प्रतिशतले बढाएको छ । 

अघिल्लो वर्षको यही अवधिमा ६८ करोड २४ लाखमा सीमित रहेकोमा त्यो बढेर समीक्षा अवधिमा ८८ करोड ८६ लाखको उचाईमा पुगेको हो । 

कम्पनीले जीवन बिमा कोषलाई २९.२३ प्रतिशतले बढाएको छ । अघिल्लो वर्ष यही अवधिमा १३ अर्ब ८८ करोडमा सीमित कोषको आकार बढी यो वर्ष १७ अर्ब ९४ करोडको उचाईमा पुगेको छ । 

कम्पनीको अन्य सूचकतर्फको प्रगति पनि उत्साहजनक देखिएको छ ।

अघिल्लो वर्ष ३ करोड ७२ लाखमा सीमित महाविपत्ति जगेडा बढेर ४ करोड ३० लाख तथा २६ करोड ६८ लाखमा सीमित रिजर्बको आकार बढी ४० करोड ५४ लाखको उचाईमा पुगेको छ । 

समीक्षा अवधिमा एशियन लाइफ इन्स्योरेन्सले लगानी, कर्जा तथा अन्यबाट ५ करोड १९ लाख आम्दानी गरेको छ । यस्तो आम्दानी अघिल्लो वर्ष ३ करोड ६० लाखमा सीमित थियो । 

व्यवस्था फिर्ताबाट मात्रै कम्पनीले १९ करोड ४७ लाख आम्दानी गरेको छ । अघिल्लो वर्ष यही अवधिमा यस्तो आम्दानी १० करोड ४७ लाखमा सीमित थियो । 

कम्पनीले यो अवधिमा १४ करोड १२ लाख दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यस्तो भुक्तानी ७ करोड १२ लाखमा सीमित थियो । 

अघिल्लो वर्ष यही अविधिमा १ करोड ६९ लाखमा सीमित खूद नाफालाई बढाएर समीक्षा अवधिमा ४ करोड २ लाखको उचाई चुमाएको कम्पनीले समीक्षा अवधिसम्म २ लाख ७७ हजार बिमालेख कायम गरेको छ । अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीमा २ लाख १९ हजार ६३९ मात्रै बिमालेख कायम थिए । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १२२.३१ रुपैयाँ, पीई अनुपात ३९.७३ गुणा कायम भएको छ ।