काठमाण्डौ । विगत १२ वर्षदेखि निरन्तर रुपमा जीवन बीमा कम्पनीको रुपमा सेवा प्रदान गर्दै आएको एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमीटेड चैत २१(आज) बाट संचालनको १२ औं वर्ष पूरा गरी १३ औं वर्षमा प्रवेश गरेको छ ।
 
यो अवसरमा कम्पनीले आफूलाई जीवन बीमाको क्षेत्रमा उत्कृष्ट कम्पनीको रुपमा स्थापित गर्न सहयोग गर्ने ग्राहक वर्ग, अभिकर्ता, कर्मचारी, शेयरधनी तथा नियामक निकायहरु बीमा समिति, नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्टारको कार्यालय, सिडिएस एण्ड क्लियरिङ लिमीटेडप्रति एक विज्ञप्तिमार्फत आभार समेत प्रकट गरेको छ । 
 
यो कम्पनीले चालू आ.व.(फाल्गुन मसान्तसम्म)मा कूल रु.२ अर्ब ९९ करोड बीमाशुल्क आर्जन गर्न सफल भएको छ । त्यसैगरी कम्पनीले हालसम्म ५ लाख ४ हजार भन्दा बढी बीमालेखको बिक्रीबाट आ.व. ७६/७७ को फाल्गुनसम्ममा कूल बीमाशुल्क रु.२१ अर्ब ६० करोड संकलन गरेको छ ।
 
कम्पनीको कूल लगानी रु.२१ अर्ब र जीवन बीमा कोष रु.२० अर्ब रहेको छ । कम्पनीको रु. ५ अर्ब अधिकृत पूँजी र रु.२ अर्ब १ करोड चुक्ता पूँजी रहेको छ । देशैभर रहेका १३६ वटा शाखा/उपशाखा मार्फत् कम्पनीले बीमितलाई जीवन बीमा सेवा प्रदान गर्दै आएको छ । 
हालसम्म म्यादी, सावधिक तथा आजीवन बीमालेख सहित २१ वटा जीवन बीमा योजनाहरु प्रचलनमा ल्याइसकेको यस कम्पनीले हालै ‘एशियन वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना’ समेत सार्वजनिक गरेको छ । यस योजना अन्तर्गत बीमितले प्रत्येक वर्ष ५ प्रतिशतको दरले बीमांक रकम फिर्ता पाउनुको साथै बीमा अवधीको समाप्तीमा बाँकी बीमांक र आर्जित बोनश एकमुष्ठ पाउने सुविधा रहेको छ ।
 
हाल कोरोना भाइरस (कोभिड १९) को कारण विश्वव्यापीरुपमा उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गर्दै यस रोगको संक्रमण फैलिन नदिनका लागि नेपाल सरकारले ’लक डाउन’ को घोषणा गरेको कारण बीमित, जीवन बीमा अभिकर्ता तथा सम्बन्धित सबैको सुविधाको लागि जीवन बीमा सेवा, बीमा शुल्क भुक्तानी तथा दाबीका लागि सहुलियतको व्यवस्था समेत गरेको छ। 
 
हाल भुक्तानी गर्नुपर्ने किस्ता रकम भुक्तानी गर्न नसकेको कारणले बीमालेख व्यतित नहुने र बैशाख मसान्तसम्म बीमाशुल्क भुक्तानीमा ब्याज नलाग्ने व्यवस्था गरिएको कम्पनीले प्रष्ट्याएको छ । 
 
तिर्न बाँकी नियमित बीमा शुल्क ई सेवाको वेभसाइट वा एप्समार्फत् अनलाइन भुक्तानी गर्न सकिने समेत विज्ञप्तिमा उल्लेख छ ।
 
नविकरण बीमाशुल्क बीमालेख नम्बर, बीमितको नाम, ठेगाना र मोबाइल नम्बर स्पष्ट रुपमा उल्लेख गरेर  एनआइसी एशिया बैंक लिमीटेडमा रहेको कम्पनीको खाता नं. 2941 000 6875 24052 मा अनलाइन ट्रान्सफर वा बैंकको शाखाबाट पनि जम्मा गर्न सकिने बताइएको छ । 
 
बीमालेख, बीमाशुल्क भुक्तानी, बीमा दाबी तथा अन्य आवश्यक जानकारीको लागी मोबाइल नम्बर 9801150012 वा 9801150015 मा सम्पर्क गर्न सकिने समेत कम्पनीले प्रष्ट पारेको छ ।