काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडले बिक्री नभएको २ लाख २१ हजार ३५९.७३ कित्ता हकप्रद सेयर लिलामीबाट बिक्री गर्ने भएको छ । 

कम्पनीले असार १ देखि ८ गतेसम्म नबिकेको सेयरको लिलामी खुलाउने भएको हो । 

कम्पनीले २ हजार ४२०.७० कित्ता संस्थापक सेयर र सर्वसाधारण समूहतर्फको २ लाख १८ हजार ९३९.०३ कित्ता सेयर लिलामीमार्फत बिक्री गर्ने भएको हो । 

लिलामी प्रक्रियाको व्यवस्थापनका लागि एनआइबिएल एस क्यापिटल बिक्री प्रबन्धक तोकिएको छ । 

इच्छुक लगानीकर्ताले एनआइबिएल एस क्यापिटलको काठमाण्डौस्थित मुख्य कार्यालय तथा ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज, विराटनगरस्थित शाखा कार्यालयबाट लिलामीका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।

यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकका हेटौडा, विर्तामोड, जनकपुर, नारायणगढ, दाङ, नेपालगञ्ज, सुर्खेत र धनगढीस्थित शाखा कार्यालयबाट समेत बोलपत्र पेश गर्न सक्नेछन् ।

इच्छुकले न्यूनतम १०० कित्ताका लागि न्यूनतम १०० रुपैयाँ दर राखेर लिलामीका लागि बोली लगाउन सक्नेछन् । 

हालै एशियन लाइफ इन्स्योरेन्सले ६० प्रतिशत हकप्रद निश्कासन गरेको थियो । यही क्रममा बिक्री नभएको सेयर लिलामीबाट बिक्री गर्न लागिएको हो । 
हाल यो कम्पनीको चुक्तापूँजी १ अर्ब २५ करोड रुपैयाँ रहेको छ । ६० प्रतिशत हकप्रदको पूर्ण पूँजीकरणपछि चुक्तापूँजी बढेर २ अर्बको उचाईमा पुग्नेछ । 

दोश्रो बजारमा एशियन लाइफ इन्स्योरेन्सको साधारण सेयरको अन्तिम बिक्री मूल्य प्रतिकित्ता ४०१ रुपैयाँ रहेको छ ।