काठमाण्डौ । एशियन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्ममा ४ अर्ब ५४ करोड बढी बिमा शुल्क आर्जन गरेको छ । 

अघिल्लो वर्षको यही अवधिमा कम्पनीको खूद बिमा शुल्क आर्जन ४ अर्ब २१ करोड रुपैयाँ रहेको थियो । 

एशियन लाइफ इन्स्योरेन्सले समीक्षा अवधिमा नाफालाई बढाएर १८ करोड १८ लाखको उचाई चुमाएको छ । यो भनेको अघिल्लो आर्थिक वर्षको यही अवधिमा भएको नाफाको तुलनामा ७८.४३ प्रतिशतले बढी हो । 

समीक्षा अवधिमा कम्पनीले लगानी, कर्जा तथा अन्यबाट १ अर्ब ५६ करोड आम्दानी गरेको छ भने बिमालेखको धितोमा कर्जाबाट हुने आय ११ करोड ४० लाख पुर्याएको छ । अघिल्लो वर्ष लगानी, कर्जा तथा अन्यबाट १ अर्ब २९ करोड नाफा कमाएको थियो भने धितोमा कर्जाबाट ५ करोड ९३ लाख आम्दानी गरेको थियो । 

कम्पनीले निकै कुशलतापूर्वक व्यवस्थापन खर्च समेत घटाउने सफलता पाएको छ । अघिल्लो आर्थिक वर्षको कुल व्यवस्थापन खर्च ६३ करोड १९ लाख रहेकोमा त्यो घटेर समीक्षा अवधिमा ६२ करोड ६७ लाख रुपैयाँ मात्र व्यवस्थापन खर्च भएको छ । 

समीक्षा अवधिमा कम्पनीले ५२ करोड ५ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । अघिल्लो वर्ष यो अवधिसम्म ४० करोड ४८ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको थियो । 

अघिल्लो वर्षसम्म कम्पनीमा २ लाख ५० हजार ३५४ बिमालेखको संख्या कायम भएकोमा यो वर्ष बढेर २ लाख ९० हजार ७२३ को उचाईमा पुगेको देखिएको छ । 

समीक्षा अवधिमा एशियन लाइफ इन्स्योरेन्सले जीवन बिमा कोषको आकार बढाएर २१ अर्ब ६१ करोडको उचाई चुमाएको छ । अघिल्लो वर्षसम्म जीवन बिमा कोषको आकार १७ अर्ब १ करोडमा सीमित थियो । 

कम्पनीले अघिल्लो वर्षसम्म ३६ करोड ५२ लाखमा सीमित जगेडा तथा कोषको आकार बढाएर ५४ करोड ७० लाखको उचाई चुमाएको छ भने महाविपत्ति जगेडाको आकार पनि ४ करोड ३० लाखबाट बढेर ६ करोड १२ लाख पुगेको छ । 

समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९.०४ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.२५ रुपैयाँ, पीई अनुपात ६७.११ गुणा र प्रतिसेयर कुल सम्पत्तिको मूल्य १२३०.८८ रुपैयाँ कायम भएको छ ।