काठमाण्डौ । चीनका धनाढ्य ज्याक मा एशियाकै सर्वाधिक धनी व्यक्ति बन्न सफल भएका छन् । 

चीनको इकमर्स कम्पनी अलीबाबाका मालिक ज्याकको कुल सम्पत्ति रातारात २.८ अर्ब डलर बढेको छ । यो वृद्धिलाई मिडियाहरुले अनुमान भन्दा अधिक भनेका छन् । 

ब्लुमबर्गले जारी गरेको अर्बपतिहरुको सूचिमा ज्याक मा अब एशियाका सर्वाधिक धनी व्यक्ति तथा विश्वका १४ औं धनी बन्न सफल भएका छन् । 

अलीबाबा ग्रुप होल्डिङका मालिक ज्याकको सम्पत्ति ८७.२ हजार करोड रुपैयाँ वृद्धि भई ४१.८ अर्ब डलर(करिब ४.१६ लाख करोड रुपैयाँ)को स्तरमा पुुगेको छ । रातारात यति ठूलो छलाङ पछाडिको कारण अलीबाबाको कम्पनीको आम्दानीमा भएको अपत्यारिलो प्रगतिलाई मानिएको छ । 

चीनको अनलाइन सपिङ तथा सोशल मिडियामा एकछत्र राज गरिरहेको अलीबाबा कम्पनी अब म्युजिक तथा भिडियो स्ट्रिमिङमा हात हाल्न गइरहेको छ । अलीबाबाले आफ्नो साइट्सलाई भिडियोको माध्यमबाट डिजिटल विज्ञापन बढाइरहेको छ ।