काठमाण्डौ । कोरोना महामारीले एशियाको व्यापार निर्भर अर्थतन्त्रहरुलाई विशेष रुपमा नोक्सान पुर्याएको छ । कोरोनाको प्रभावका कारण एसियाको धनाढ्य देशहरुमध्ये एक सिंगापुरको अर्थतन्त्र नराम्ररी प्रभावित बनेको छ । 

दोस्रो त्रैमासमा सिंगापुरको मन्दीको जुन आँकलन गरिएको थियो, वास्तविकतामा असर त्योभन्दा कयौं धेरै देखिएको छ । सिंगापुर कोभिड १९ बाट नराम्ररी प्रभावित बनेको छ र त्यहाँ भाइरसको फैलावट रोक्नका लागि लकडाउन लागू गरिएको थियो । जुन दोस्रो त्रैमासको अवधिभर पूरै समय लागू भएको थियो । 

व्यापार तथा उद्योगका स्थायी सचिव ग्याब्रियल लिमले एक ब्रीफिङमा भने, “आगामी त्रैमासमा कोरोनाभाइरस संक्रमणको अवस्था कस्तो हुनेछ भनेर अहिले नै स्पष्ट भइसकेको छैन । यस्तै घरेलु तथा विश्व अर्थतन्त्रमा आर्थिक सुधारका लागि के गरिनेछ भन्नेबारे माथि पनि अनिश्चितता कायम नै रहेको छ । मे महिनापश्चात सिंगापुरको अर्थतन्त्रलाई लिएर दृष्टिकोण थोरै कमजोर बनेको छ ।” 

यो वर्षको दोस्रो त्रैमासमा सिंगापुरको कुल ग्राहस्थ उत्पादन(जीडीपी)मा १३.२ प्रतिशतको गिरावट देखिएको थियो । उता मंगलबार प्रकाशित संसोधित सरकारी आँकडाअनुसार अग्रिम आँकलनमा १२.६ प्रतिशतको गिरावट देखिएको छ । 

सिंगापुर सरकारले यो वर्ष त्यहाको जीडीपी ५ देखि ७ प्रतिशतको बीचमा रहने विश्वास लिएको छ । यसअघि यो दरमा ४ देखि ७ प्रतिशतको गिरावट देखिने अनुमान लगाइएको थियो । यातायात र पर्यटनको हबका रुपमा परिचित सिंगापुर अहिले इतिहासकै सबैभन्दा खराब अवस्थाबाट गुज्रिरहेको छ । 

मेय बैंकका अर्थशास्त्री शुआ हक बिनका अनुसार दोस्रो त्रैमासमा देखिएको गिरावट र यो वर्षको सुस्त जिडिपी वृद्धिको आँकलनले सुस्त आर्थिक सुधारतर्फ इशारा गरेको छ । उनी मान्दछन् कि लकडाउनबाट राहत प्राप्त हुँदा पनि सीमा क्षेत्रमा गरिएको कडा प्रतिबन्ध, सामाजिक दुरीको नियम र विदेशी कामदारको कमीका कारण अर्थतन्त्रलाई गति लिन सजिलो छैन । 

जीडीपीमा देखिएको गिरावटका कारण विश्व वित्तीय हबको रुपमा रहेको सिंगापुरको दोस्रो त्रैमासमा पनि गिरावट जारी रह्यो । पहिलो त्रैमासमा वर्षैपिच्छे देखिएको ०.३ प्रतिशतको गिरावट र ३.१ प्रतिशत त्रैमासैपिच्छेको गिरावट, प्राविधिक रुपमा मन्दीको संकेत हो । 

सिंगापुरले छोटो अवधिमा नै प्रगतिको जुन खुड्किला पार गरेको छ, त्यो अन्य देशका लागि प्रेरणादायी छ । सिंगापुरको चौडाई केवल ४८ किलोमिटरमा सीमित छ । यो देश न्यूयोर्कको आधा क्षेत्रफल भन्दा पनि सानो छ । यहाँको जनसंख्या पनि केवल ५५ लाख मात्रै छ । तर प्रतिव्यक्ति आयमा यो देश अन्य विकसित देशभन्दा पनि अगाडि छ । दक्षिणपूर्वी एसियाली देशहरुमा सिंगापुर एउटा यस्तो एक्लो देश हो, जहाँ चिनिया मुलका नागरिक सबैभन्दा धेरै बसोवास गर्ने गर्दछन् । 

९ अगस्त १९६५ मा मलेशियाबाट अलग भएर सिंगापुरले विश्वसामु एउटा स्वतन्त्र र सार्वभौम राष्ट्रको रुपमा आफ्नो परिचय बदलेको थियो । मलेसियाबाट अलग हुनुको मुख्य कारण आर्थिक र राजनीतिक मतभेद थियो ।