काठमाण्डौ । भरतपुर महानगरपालिकाको मेयरमा माओवादी केन्द्रका अध्यक्ष पुुष्पकमल दाहालकी माइली  पुत्री रेणुु दाहालले जित हासिल गरेकी छिन् । 

एमालेका देवी ज्ञवालीलाई पराजित गर्दै उनले महानगरको पहिलो महिला मेयरको रुपमा जित्ने शौभाग्य प्राप्त गरेकी हुन् । 

उनको जितसँगै विभिन्न रेकर्ड त बनेका छन् नै, योसँगै उनी प्रचण्डपुत्री मात्र हुन् या राजनीतिमा उनको आफ्नै समेत योगदान छ भन्ने बिषय आम चासोको बिषय बनेको छ अहिले । हामीले यस्तै बिषयमा चासो राख्नेहरुका लागि उनको संक्षिप्त प्रोफाइल राख्ने प्रयास गरेका छौ । 

रेणुु प्रचण्डकी माइली पुत्री हुन् । प्रचण्डको चाहनाअनुसार भरतपुर महानगरपालिकामा माओवादी केन्द्रको तर्फबाट उनलाई उम्मेदवार बनाइएको थियो । उनलाई कांग्रेसले समेत साथ दिएको थियो। 

पश्चिम चितवनको साविक शारदानगर ८ भिमसेन नगरमा २०३३ असार २२ गते जन्मिएकी रेणुले एसएलसीसम्मको अध्ययन गरेकी छिन् । २०५२ सालदेखि माओवादी आन्दोलनमा लागेकी रेणु अनेमसंघ क्रान्तिकारी भारत प्रवास शाखा अध्यक्ष, युद्धकालमा नै माओवादी रोल्पा पार्टी सेक्रेटरी, सहइञ्चार्ज, काठमाडौं जिल्ला कमिटीको सचिव भएर काम गरेकी छन् ।

हाल माओवादी केन्द्रको पोलिट्ब्यूरो सदस्य समेत रहेकी उनी अनेमसंघ क्रान्तिकारीकी महासचिव पनि हुन् । २०६४ मा भएको संविधानसभा निर्वाचनपछि समानुपातिक सांसदका रुपमा काम गरेकी दाहाल २०७० सालमा भएको संविधानसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्रनम्बर १ बाट काँग्रेसका नेता प्रकाशमान सिंहसँग पराजित भएकी थिइन् । अनिलकुमार पाठकसँग विवाह गरेकी रेणुका १ छोरा र एक छोरी छन् ।

*यसअघिको समाचारमा माइली पुत्री हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।
-सम्पादक