काठमाण्डौ । नयाँ वर्ष लागेपछि दोश्रो बजारमा तीव्र रुपमा मूल्य बढिरहेको र लगानीकर्ताको ध्यान खिचिरहेको नेपाल एसबीआई बैंकले चालु आर्थिक वर्षका लागि आफ्ना लगानीकर्ताहरुलाई १८ प्रतिशत भन्दा बढी लाभांश वितरण गर्नसक्ने देखिएको छ । 

यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब १७ करोड वितरणयोग्य मुनाफा आर्जन गरेको हो । मुनाफाको यो अवस्था चौथो त्रैमाससम्म पनि कायम रहे र नियामकीय व्यवस्थाका लागि थप रकम छुट्याउन नपरे लगानीकर्ताले १८ प्रतिशतभन्दा माथिकै लाभांश पाउने देखिएको हो । 

बैंकले गत वर्ष यही अवधिमा १ अर्ब ३७ करोड रहेको नाफालाई बढाएरु १ अर्ब ६० करोडको उचाईमा पुर्याएको छ । 

यस्तै, २ अर्ब १ करोडमा सीमित संचालन मुनाफा बढेर यो वर्ष २ अर्ब २० करोडको उचाईमा पुगेको छ । 

अघिल्लो वर्ष २ अर्ब ८९ करोडमा सीमित खूद ब्याज आम्दानीमा वृद्धि भई ३ अर्ब ३५ करोड पुगेको छ भने ४ अर्ब ७५  करोडमा सीमित रिजर्बको आकार बढी ५ अर्ब ३ करोड पुगेको छ । 

समीक्षा अवधिमा बैंकले १ खर्ब निक्षेप संकलन गरी ८५ अर्ब ७९ करोड कर्जा परिचालन गरेको छ । 

बैंकमा खराब कर्जा बढ्दै गएको देखिन्छ । अघिल्लो वर्षको यही अवधिमा ०.१३ प्रतिशत रहेको यस्तो कर्जा बढेर यो वर्ष ०.१९ प्रतिशत पुगेको हो । 

बैंक चैत मसान्तसम्म सुविधाजनक सीसीडी अनुपातमा रहेको देखिएको छ । यो अवधिमा बैंकको सीसीडी अनुपात ७५.५८ प्रतिशत रहेको छ । अन्य बैंकको तुलनामा यो अवस्था सुविधाजनक हो ।

अघिल्लो वर्षको तुलनमा कस्ट अफ फण्ड ११.६२ प्रतिशतले बढेर ५.८६ प्रतिशत पुगेको छ भने ९.८९ प्रतिशत रहेको बेस रेट घटेर ९.७३ प्रतिशतमा सीमित बनेको छ ।

बैंकको वार्षिकीकृत प्रतिसेयर आम्दानी २५.२६ रुपैयाँ रहेको छ । अघिल्लो वर्ष यही अवधिमा २२.८६ रुपैयाँ थियो ।

समीक्षा अवधिमा प्रतिसेयर नेटवर्थ १५९.५६ रुपैयाँ कायम भएको छ भने मूल्य आम्दानी अनुपात १६.४६ गुणा रहेको छ ।