पचास वर्षको हुँदासम्म हेमा देवडा दिल्लीमा छोराहरूको स्याहार वा पूर्वपेट्रोलियम मन्त्री रहेका श्रीमान् मुरली देवडासँग देशदौडाहामा व्यस्त हुन्थिन्।

अहिले ६७ वर्षको उमेरमा हरेक शनिवार घरमा साथीहरूसँग सधैं खेल्ने गरेको खेलमा भारतको प्रतिनिधित्व गरिरहेकी छन्।

साथै उनकी साथी ७९ वर्षिया रीता चोकसी इण्डोनेसियामा भइरहेको एसियन गेम्सको एकजना सबैभन्दा पाको प्रतिस्पर्धी हुन्।

देवडा र चोकसीले एसियन गेम्समा सहभागी हुन पाइएला भन्ने कहिल्यै कल्पनासम्म गरेका थिएनन्।

बिहेपछि तास
तर, सन् २०१८ मा तासको एउटा खेल-ब्रिजलाई दिमागको खेल भन्दै मान्यता दिइएपछि उनीहरूको सहभागिताको बाटो खुलेको हो। ब्रिज संसारभरी विभिन्न सामाजिक अवसर र प्रतिस्पर्धामा दशौं लाख मानिसले खेल्ने खेल हो।

देवडाका अनुसार वयस्कले मात्र खेल्ने भनिएको उक्त खेल सानो छँदा उनका अभिभावकले खेल्न दिँदैनथे। तर उनको बिहे पछि अवस्था फेरियो।

हेमा देवडा

............................................

उक्त खेल मनपराउने उनका पतिले खेल्न साथीहरूलाई घर बोलाउँथे। खेल साप्ताहिक रूपमा नियमित हुन थाल्यो र ठूलो वर्षा होस् वा आँधी, पाहुनाहरू पनि खेल्न आउँथे।

उनी भन्छिन्, "मलाई अचम्म लाग्थ्यो कि यो खेलमा त्यस्तो के छ जसले मानिसलाई आफ्नो आसपासको सबै कुरा भुलाइदिन्छ।"

सुरूमा उनले तासमा त्यति रूचि दिइनन्। तर छोराछोरी क्याम्पस जान थालेपछि उनलाई फुर्सद भयो र ब्रिज सिक्न थालिन्।

सारा जीवन अरूले खेलेको देखेको उक्त खेल आफूले पनि किन नसिक्ने भन्ने उनको मनमा लाग्यो।

सुरूमा त्यो खेल सिक्नु अप्ठेरो काम थियो। जब त्यसका आधारभूत नियम जानिन्, पोख्त खेलाडी बन्न उनले एकजना प्रशिक्षक फेला पारिन्।

तासले जुरायो पति
त्यसपछि छिट्टै उनले स्थानीय क्लब र प्रतियोगितामा खेल्न सुरू गरिन र ट्रफीहरू जितिन्।

त्यसमध्ये बिल गेट्स र वारेन बफेटविरुद्ध खेलेको खेल उनको एउटा मीठो सम्झना बनेको छ।

श्रीमती रीता चोकसीको हृदयमा उक्त खेलको विशेष स्थान छ।

उनले भनिन्, "ब्रिज खेलले मलाई मेरो दोस्रो पति दियो।"

पहिलो पतिको मृत्युपछि उनले डा. हरेन चोकसीलाई ब्रिज खेलको क्रममा भेटिन् र उनीहरूले खेलको सहकर्मी बन्ने निधो गरे।

तास: साथी
छिट्टै उनीहरू साथी बने र अन्तत: प्रेममा परे। सन् १९९० मा डा. चोकसीको पनि मृत्यु भयो। फेरि उनी एक्ली भइन्। तर त्यो पीडाबाट बाहिरिन ब्रिज सहयोगी बन्यो।

उनी भन्छिन्, "त्यो मेरो जीवनको निकै चुनौतीपूर्ण अवधि थियो। म एक्ली थिएँ मैलेँ तर एक्लोपनको महसुस गरिनँ किनकि मसँग तासका पत्ताहरू थिए।"

चोकसी र देवडामात्र भारतीय टीमका वृद्धा खेलाडी होइनन्। तीमध्ये कैयौं ६० वर्षभन्दा माथिका छन्। त्यसले कुनै पनि खेलस्पर्धामा त्यो दृष्य अनौठो लाग्छ।

तर श्रीमती चोकसीले भनिन्, "ब्रिज गज्जब छ किनकि यो दिमागको खेल हो। यसले दिमाग तेज बनाउनुका साथै तपाईँलाई पुनः ताजगी दिन्छ।"

-बीबीसीबाट साभार