काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विश्व महामारी कोरोनाभाइरस संक्रमणको जोखिमलाई ध्यानमा राखी आवश्यक पूर्वतयारी तथा उपचारसम्बन्धी पूर्वाधार निर्माण गर्न पर्साको वीरगन्ज महानगरपालिकाले सुरु गरेको अभियानमा १ लाख ५१ हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ।

कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत महानगरले स्थापना गरेको प्रकोप व्यवस्थापन कोषका लागि उक्त सहयोग राशि उपलब्ध गराएको हो। कम्पनीका तर्फबाट प्रदेश २ का रामरुप सहनीले आइतबार वीरगन्ज महानगरका मेयर विजयकुमार सरावगीलाई सहयोग राशिको चेक हस्तान्तरण गरेका छन्।

संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीले यसअघि सातवटै प्रदेश सरकारको कोभिड रोकथाम तथा उपचार कोषमा ५/५ लाख रुपैयाँ गरी ३५ लाख रुपैयाँ उपलब्ध गराइसकेको छ।