- लीलानाथ घिमिरे

सिन्धुली । हरिहरपुरगढीलाई सिन्धुलीगढीसँग जोड्ने करिव ७५ किलोमिटर लामो पदमार्गको शनिबार औपचारिक रुपमा सुरु भएको छ । 
पूर्वमन्त्री तथा सांसद हरिबोल गजुरेलले पदमार्गको घन्टेमा शुभारम्भ गर्नुभयो । उद्घाटनपछि पूर्वमन्त्री गजुरेललगायत एक सयभन्दा बढी सहभागीहरुले करिव एक किलोमिटर पदयात्रा गर्नुभएको थियो । 

सांसद हरिबोल गजुरेलले नेपालको इतिहासमा महत्वपूर्ण अर्थ राख्ने दुई गढीलाई जोडेर पदमार्ग निर्माण गर्दा यसले सिन्धुलीको आर्थिक तथा सामाजिक विकासमा अर्थ राख्ने बताउनुभयो । उहाँले पदमार्ग निर्माणको अभियानमा स्थानीयवासीको उत्साहप्रद सहभागिताप्रति धन्यवाद दिदै पर्यटनको विकासमा स्थानीयवासीको साथ र सहयोग महत्वपूर्ण हुने बताउनुभयो ।

यस्तै, कार्यक्रममा प्रदेश सदस्य विनोदकुमार खड्काले सामाजिक तथा आर्थिक विकासको क्षेत्रमा सिन्धुली जिल्ला फड्को मार्ने चरणमा रहेको भन्दै पर्यटनसँग पदमार्गको सम्बन्धबारे चर्चा गर्नुभयो ।
यसैगरी, प्रदेशसभा सदस्य बुद्धिमान माझीले सिन्धुलीको हरिहरपुरगढी क्षेत्रमा औद्योगिक क्षेत्रको प्रस्ताव गरिएको बताउँदै सिन्धुलीलाई कृषि क्षेत्रमा अगाडि बढाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले विकासका दृष्टिले सिन्धुलीले धेरै सम्भावना बोकेको भन्दै राजनीतिक दलका नेताहरु विकासका लागि एकमत हुने गरेको बताउनुभयो ।

यस्तै, हरिहरपुरगढी गाउँपालिका अध्यक्ष कारसाङ लामाले पर्यटनको गुरुयोजना बनाएर हरिहरपुरगढी गाउँपालिकाको विकासमा योजनाबद्ध रुपमा काम थालिएको बताउनुभयो ।

कार्यक्रमममा नेकपा (नेकपा) का केन्द्रीय सदस्य तथा गढी संरक्षण समितिका अध्यक्ष कमलजंग राईले घण्टे, गढीलगायत हरिहरपुरगढी क्षेत्रको ऐतिहासिक महत्वको खोजविन गरिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सांसद हरिबोल गजुरेलले पदमार्गका लागि जग्गा दिएर सहयोग गर्नुहुने शम्भु राई, रुकमणि श्रेष्ठ, लक्ष्मी श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, मानबहादुर मानन्धर र हरिबहादुर श्रेष्ठलाई कदरपत्र दिएर सम्मान गर्नुभएको थियो । 

कार्यक्रममा प्रदेश सभा सदस्य राजन दाहाल, मरिण गाउँपालिका अध्यक्ष पानीराज बम्जन, गणपति राजीव थापा, प्रहरी नायव उपरीक्षक लोकदर्शन थापा, शसस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक दिनेश शर्मालगायतको उपस्थिति रहेको थियो ।

समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई सिन्धुलीगढीसँग पर्यटकीय पदमार्गका रुपमा विकास गर्न पदमार्ग निर्माण गरेको हो । तत्कालीन मकवानपुरका राजा हेमकर्ण सेनले स्थापना गरेको घण्टे महादेव (हेमकर्णेश्वर) रहेको स्थानबाट पदमार्ग सुरु गरिएको हो । 
स्थानीय विकास साझेदारी कार्यक्रमअन्तर्गत सांसद गजुरेलले ४० लाख रुपियाँ पदमार्गका लागि विनियोजन गर्नुभएको थियो । 

मदन भण्डारी मार्गको घण्टेबाट ऐतिहासिक हरिहरपुरगढी एक घण्टा पैदल दुरीमा छ । 

तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढी सदरमुकाम सिन्धुलीबाट १३ किलोमिटर दुरीमा छ । यो पदमार्गले दुवै गढीलाई जोड्ने छ । 
नेपाल एकिकरणका क्रममा तत्कालीन गोर्खाली सैनिकहरू हिँडेका ऐतिहासिक स्थलहरूलाई पर्यटकीय पदमार्गले जोड्ने योजना अनुसार अभियानले पहिलो खण्ड हरिहरपुरगढीको घण्टेदेखि हात्तीढुंगासम्म पदमार्ग निर्माण सम्पन्न गरेको हो । 

पदमार्ग निर्माणमा दैनिक १ सय जनाभन्दा बढी उपभोक्ता डेढ महिनासम्म खटिएको पदमार्ग निर्माण गर्न गठन गरिएको उपभोक्ता समितिका अध्यक्ष तथा समृद्ध सिन्धुली अभियानका संयोजक लीलानाथ घिमिरेले बताए । पदमार्गको सुरुआत स्थल घण्टेमा कलात्मक प्रवेशद्वार बनाइएको छ । 
त्यस्तै खोरभञ्ज्याङ र जितपुरमा काठको कलात्मक प्रतीक्षालय निर्माण गरिएको छ । खोरभञ्ज्याङको प्रतीक्षालय घन्टे र पीपलमाढीबाट जाने पदयात्रीलाई सुविधा हुने गरी दोबाटोमा बनाइएको छ । 

जितपुरको डाँडामा बनाइएको प्रतीक्षालयबाट दक्षिणतिरको मरिण फाँट, चुरे र तराईको दृष्यावलोकन गर्न सकिन्छ । यहाँबाट उत्तरी क्षेत्रको हिमालय पवर्त श्रृङ्खलासमेत देखिन्छ । धरान–चतरा जोड्ने मदनभण्डारी लोकमार्गमा पर्ने घन्टेबाट पदमार्ग सुरु हुन्छ ।

चौधौं सताब्दीमा बनाइएका हरिहरपुरगढी र सिन्धुलीगढीलाई जोडेर पर्यटन प्रबर्धन गर्न पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष लीलानाथ घिमिरेले बताए । हरिहरपुरगढी किल्ला हरिसिंहदेवले विक्रम संवत १३८१ मा बनाएका थिए । बाराको सिम्रौनगढमा बंगाल मुसलमानको भिषण आक्रमणबाट सिम्रौनगढ राज्यको पतन भएपछि बाराका तत्कालित राजा हरिसिंह सिन्धुली आएर सानो किल्ला बनाएर बसेका थिए । त्यही किल्लाले राज्यको रूप लिएको थियो । 

यस किल्लालाई राजा हरिसिंह देवकै नामबाट हरिहरपुरगढी भन्न थालियो । झण्डै ७ सय बर्षअघि बनेको यो किल्ला पुरानै स्वरुपमा जस्ताको तस्तै छ । बनेको सिन्धुलीगढी तत्कालीन ब्रिटिस सेनालाई पराजित गरेको गौरवशाली इतिहास बोकेर बसेको छ । 

सिन्धुलीगढी भारतमा शासन गरिरहेको तत्कालीन अंग्रेज सेनालाई काठमाडौंतर्फ आउँदै गर्दा गोर्खाली फौजले पराजित गरेको ऐतिहासिक स्थल हो । पृथ्वीनारायण शाहको नेपाल एकिकरण अभियानलाई रोक्न आएका अंग्रेजी फौजलाई विक्रम संवत १८२४ मा वीर गोर्खालीले सिन्धुलीगढीमा घरेलु हतियारको भरमा लडेर परास्त गरेका थिए । संसारमा आफ्नो साम्राज्य खडा गर्न अगाडि बढेको बेलायती साम्राज्यलाई परास्त गरेको सम्झनामा हरेक बर्ष विजयोत्सव मनाइन्छ । 

अभियानले पदमार्गको प्रबर्धन गर्न डकुमेन्ट्री बनाएको छ । श्रब्यदृष्य समाग्री समेटिएको वेवसाइट हरिहरपुरगढी डटकम पनि यसै अबसरमा सुरु गरिएको छ । यस वेवसाइटमा पदमार्गको भिडियो, हरिहरपुरगढीबारे जानकारी, बाटोमा पर्ने गन्तब्यहरु र तस्बिरहरु समेटिएका छन् । 

घण्टेमा फोटो सिन्धुली

समृद्ध सिन्धुली अभियानले असार ६ र ७ गते दुई दिन घण्टेस्थित हरिहरपुरगढी सिन्धुलीगढी ऐतिहासिक पदमार्गको प्रवेशद्वारमा फोटो सिन्धुली प्रदर्शनी गरियो । प्रदर्शनीको सांसद गजुरेललगायत अतिथि, विद्यार्थी, स्थानीवासीले तस्वीर अवलोकन गर्नुभएको थियो ।