काठमाण्डौ । जारी लकडाउनमा बन्द रहेको कारोबार ७५ दिनपछि खुलेपछि सुनको भाउले नेपाली बजारमा लगातार ऐतिहासिक उचाइ कायम गरिरहेको छ।

आज मंगलबार सुनको भाउ फेरि तोलामा २०० रुपैयाँले बढेर ऐतिहासिक उचाइमा पुगेको छ। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ मंगलबार प्रतितोला छापावाल ८७ हजार ७०० रुपैयाँ र तेजाबी ८७ हजार २६५ रुपैयाँ कायम भएको छ। जुन हालसम्मकै उच्च हो। 

हिजो सोमबार तोलामा १०० रुपैयाँ बढेर छापावाल सुन प्रतितोला ८७ हजार ५०० रुपयाँ र तेजाबी सुन ८७ हजार ६५ रुपैयाँ कायम भएका थियो। 

लकडाउनको ७५ दिनपछि आइतबार कारोबार खुल्दा कारोबार एकैपटक तोलामा १० हजार ४०० रुपैयाँ बढेर प्रतितोला छापावाल सुन ८७ हजार ४०० रुपैयाँ कायम भएको थियो। तेजाबी सुन भने १० हजार २६० रुपैयाँ बढेर प्रतितोला ८६ हजार ९६० रुपैयाँ कायम भएको थियो। 

गत वर्ष चैत ११ गतेदेखि मुलुकभर कोरोनाभाइरस रोकथाम तथा नियन्त्रणका लागि लकडाउन जारी राखिएको छ। लकडाउनअघि गत वर्ष चैत १० गते प्रतितोला छापावाल सुन ७७ हजार रुपैयाँ र तेजाबी ७६ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो। 

यसैगरी चाँदीको भाउ मंगलबार स्थिर रहँदै ९३० रुपैयाँ नै कायम भएको छ। हिजो सोमबार चाँदीको भाउ तोलामा ५ रुपैयाँ बढेर ९३० थियो। 

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको भाउमा उछालको अवस्था देखिएको छ। कोरोनाभाइरस महामारीका कारण विश्व अर्थतन्त्र अधोगतिमा गएपछि लगानीकर्ताहरुले ‘लगानीको स्वर्ग’ मानिएको पहेँलो धातुमा सुरक्षित लगानी गर्ने क्रम बढेपछि भाउमा उछाल आएको हो।

विश्लेषकहरु सुनको भाउमा अचाक्ली बढोत्तरी हुनुले विश्व अर्थतन्त्र कहालीलाग्दो मन्दीतर्फ धकेलिएको संकेतका रुपमा बुझ्ने गर्छन्। विश्व बजारको त्यही प्रभाव नेपालको सुनचाँदी बजारमा समेत परेको हो।