काठमाण्डौ । अब नेपाली बजारमा सुनको भाउ तोलाकै १ लाख रुपैयाँ बढी पर्ने भएको छ।

यो साता कारोबारको चौथो दिन बुधबार सुनको भाउ तोलामै १ हजार ६०० रुपैयाँ बढ्दै मूल्य १ लाख रुपैयाँ पार गरेको हो। यो बढोत्तरीसँगै बुधबार प्रतितोला फाइन गोल्ड १ लाख १ हजार ४०० रुपैयाँ र तेजाबी गोल्ड १ लाख ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बुधबारको सुनको यो भाउ नेपालकै इतिहासमा उच्च पनि हो।

हिजो मंगलबार पनि तोलामा २०० रुपैयाँ बढ्दै प्रतितोला फाइन गोल्ड ९९ हजार ८०० रुपैयाँ र तेजाबी गोल्ड ९९ हजार ३६५ रुपैयाँ कायम भएको थियो।

यो साता पनि चौथो कारोबार दिन बुधबारसम्म सुनको भाउ तोलामै २ हजार १०० रुपैयाँ बढिसकेको छ।

गत सातादेखि लगातार नेपाली बजारमा सुनको भाउमा उछाल आइरहेको छ। गत साताभरि सुनको भाउ तोलामै ३ हजार ५०० बढेको थियो।

यसैगरी चाँदीको भाउ पनि आज बुधबार ऐतिहासिक उचाइमा पुगेको छ। आज तोलामै ६५ रुपैयाँ बढ्दै चाँदीको भाउ १ हजार २९५ रुपैयाँ पुगेको छ।

हिजो चाँदी प्रतितोला १ हजार २३० रुपैयाँमा कारोबार भएको छ।  

कोरोना महामारीबाट थला परेको विश्व अर्थतन्त्रलाई चलायमान बनाउन विभिन्न देशका केन्द्रीय बैंकहरुले न्यून ब्याजदर र पुनरुत्थानका योजनाहरु ल्याएकाले सुनको मूल्य उकालो लाग्न सहयोग पुगेको हो। अर्कोतर्फ अन्य लगानीका तुलनामा कम उतारचढाव हुने हुँदा सुनलाई अनिश्चित समयका बेला ‘सेफ हेभेन’ का रुपमा लिइने हुँदा सुनमा लगानी गर्नेको ओइरो लागेको छ। जसका कारण विश्व बजारमा सुनको माग बढ्नुका साथै मूल्य पनि आकासिएको हो। यसको प्रत्यक्ष असर नेपाली बजारमा पनि परेको विज्ञहरु बताउँछन्।

यो वर्ष अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ १९ प्रतिशतले वृद्धि भइसकेको छ। विज्ञहरुका अनुसार सुनको भाउ अझै बढ्ने अनुमान गरेका छन्। उनीहरुले अबको एक वर्षभित्र सुनको भाउ प्रतिऔँस २५ सय डलर पुग्ने अनुमान गरेका छन्। यो हिसाबले नेपालमा सुनको भाउ अबको एक वर्षको अवधिभित्र तोलाकै १ लाख २८ हजार रुपैयाँ बढी पुग्ने सम्भावना रहेको छ।