दोहा (रासस/एएफपी)। खाडी राष्ट्र कतारले पेट्रोलियम निकासीकर्ता मुलुकहरुको सङ्गठन (ओपेक) को सदस्यता अर्को महिनाबाट त्याग्ने घोषणा गरेको छ । कतारका ऊर्जा मन्त्री साद अल–काबीले अब कतारले ग्यास उत्पादनमा केन्द्रित गर्ने घोषणा गर्नुभयो । 

काबीले सोमबार दोहामा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “कतारले जनवरी २०१९ देखि लागू हुनेगरी ओपेकको सदस्यता त्याग्ने निर्णय गरेको छ ।” 

उहाँले कतारले तेल उत्पादनलाई निरन्तरता दिने भएपनि ग्यास उत्पादनमा आफूलाई केन्द्रित गर्ने जानकारी दिनुभयो । कतार विश्वमै तरल प्राकृतिक ग्यासको सबैभन्दा ठूलो निर्यातक मुलुक हो । 

“हामीसँग तेलको त्यति ठूलो सम्भावना छैन, हामी यथार्थपरक हुनै पर्दछ । हाम्रो क्षमता नै ग्यास हो,” मन्त्री साद अल–काबीले भन्नुभयो । 

सन् १९६१ मा कतार ओपेकको सदस्य भएको थियो । मन्त्री काबीले कतारको निर्णयका बारेमा ओपेकलाई पूर्व जानकारी दिइएको बताउनुभयो । 

ओपेकमा तेलको धनी राष्ट्र साउदी अरेबियाको प्रभुत्व छ । साउदी अरेबियाले ओपेकमा आबद्ध केही देशको गठबन्धन बनाई जुन २०१७ देखि कतारमाथि नाकाबन्दी गरेको छ ।