काठमाण्डौ । ओपोलाई ईन–डिस्प्ले फिंगरप्रिण्ट स्क्यानरका लागि प्याटेन्ट प्रदान गरिएको छ । 

द स्टेट ईन्टेलेक्चुअल प्रोपर्टी अफिस अफ चाइना (एसआईपीओ)ले कम्पनीलाई उक्त प्याटेन्ट प्रदान गरेको हो । 

प्याटेन्ट फाइलिङका दौरान देखापरेका तस्विर नियाल्दा स्क्यानरले फोनको तल्लो बेजल भन्दा माथि ठूलै स्थान ओगट्ने देखिन्छ । तस्विर नियाल्दा फिजिकल होम बटन सहितको फोन स्क्रिनमा यसको प्रयोग गरिएको देखिन्छ । तर, भविष्यमा वास्तवमै सार्वजनिक हुँदा भने यसमा ब्यापक परिमार्जन हुने सम्भावना प्रबल छ । 

तस्विर सहित प्रस्तुत डक्युमेण्ट्सका आधारमा स्क्यानरको प्रयोग उपकरण अनलकका लागि मात्र नभई भुक्तानी प्राधिकरणका लागि समेत उपयोग हुने देखिन्छ । 

प्रस्तुत प्याटेन्ट तस्विरमा फिंगरप्रिन्ट राख्ने क्रम र औंलाको कुन भागको पहिचान हुने भन्ने देखाइएको छ । तस्विरमा स्क्रिन अन रहेको अवस्थामा समेत यसको प्रयोग गरिएको देखाइएको छ । यसका आधारमा ओपोको नयाँ प्रविधि स्न्यापटिक्सद्वारा विकसित (ओएलईडी प्यानल मुनी प्रकाश फालेर फिंगरप्रिन्ट क्रेज पढ्ने) प्रविधिभन्दा फरक हुनेछ । 

‘ओपोमा हामी हाम्रा उपभोक्ताहरुका लागि नौला तथा नवप्रबर्तनात्मक प्रविधि विकासका लागि निरन्तर आरएण्डडी प्रक्रियामा खटिरहेका हुन्छौँ । ईन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर प्याटेन्ट पनि हाम्रो बर्षौँको आरएण्डडीको उपज हो । निकट भविष्यमा नै नेपाली उपभोक्तालाई यस नवप्रबर्तनात्मक प्रविधि प्रयोगको मज्जा दिन ईन–डिस्प्ले फिंगरप्रिन्ट सेन्सर प्रविधि समाहित उत्पादन ल्याउने हाम्रो योजना छ।’, ओपो नेपालका प्रमुख कार्यकारी अधिकृत बबी ट्राओले भने ।