काठमाण्डौ । अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी साशा ओबामा ह्वाइट हाउसको ऐस आरामलाई छाडेर  एक अमेरिकी रेष्टुराँमा वेटरको काम गर्छिन् भन्दा तपाईंलाई पत्यार नलाग्ला, तर सत्य यही हो । 

मिडिया रिपोर्टका अनुसार १५ वर्षकी साशा गर्मीको विदालाई उपयोग गर्दै मेराचुसेट्सको मार्था वाइनयार्डस्थित एक रेष्टुराँमा काम गरिरहेकी छिन् । जहाँ उनको काम भोजन सेवा ग्राहकमाझ टक्र्याउनु हो । 

बोस्टन हेराल्डको रिपोर्ट अनुसार साशा(जसको पूरा नाम नताशा हो)को साथ हरेक दिन उनी काम गर्ने रेष्टुराँमा अमेरिकी खुफिया विभागका ६ जना एजेन्ट समेत आउँछन, ताकि राष्ट्रपति पुत्रीलाई कुनै असुुरक्षा नहोस् । 

ओबामाको परिवार गर्मीको विदा मनाउन अक्सर यो शहर आइरहन्छ । 

तस्विरमा राष्ट्रपति ओबामाकी कान्छी छोरी साशालाई रेष्टुरामा वेटरको आधिकारिक पोशाक निलो टिसर्ट र क्यापमा रिसेप्सनमा काम गरिरहेको देख्न सकिन्छ । 

साशासँगै काम गर्ने रेष्टुराँका कर्मचारीहरुले हेराल्ड अखबारसँगको कुराकानीमा भनेका छन् कि उनी(ओबामा पुत्री) तल्लो तलामा काम गरिरहेकी छिन् । ‘हामी पहिला चकित थियौं कि जब उनी यहाँ काम गर्न आउँछिन, तब उनीसँगै यी ६ जना मानिस पनि दैनिक किन आएका होलान् ? त्यसपछि पो हामीलाई थाहा भयो साशा को हुन् भन्ने कुरा ।’ कर्मचारीहरुले भनेका छन् । 
 


ह्वाइट हाउसले साशाको कामको बिषयमा कुनै पनि आधिकारिक टिप्पणी गरेको छैन । तर मिशेल ओबामाले लगातार भन्दै आएकी छिन् कि उनी आफ्ना दुवै छोरीहरुलाई बिल्कुलै सामान्य तरिकाले हुर्काउन चाहन्छिन् । 

टेक अवे काउण्टरको कामबाहेक साशाले रेष्टुराका टेबलमा ग्राहकलाई खाना लगिदिनु र लञ्चको समयमा रेष्टुरालाई चुस्त बनाउने कार्यमा सहयोग गर्नु पनि हो । 

साशाभन्दा अघि उनकी दिदी मालियाले पनि फिल्मको सेटमा दुईपटक इन्टर्नसीपको काम गरेकी थिइन । 

पश्चिमा देशमा ठूलो हस्ती तथा नेताका छोराछोरीहरुले यस्तो काम गर्नु नौलो कुरा मानिदैन । डेविड र भिक्टोरिया बेकहमका छोरा ब्रुकलिन बेकहम पनि केही समयअघि लण्डनमा एक फिल्ममेकरको कार्यालयमा काम गर्थे । 

बीबीसीको सहयोगमा