काठमाण्डौ । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि देशलाई चाहिने स्वास्थ्य सामाग्री आयात गर्ने क्रममा विवादमा मुछिएको ओम्नीसँगको आफ्नो सम्बन्धको विषयमा भाटभटेनी समूहले आफ्नो मुख खोलेको छ । 

समयमा सामान नल्याएको र ल्याइएका सामान पनि गुणस्तरहीन रहेका भन्दै ओम्नी समूहसँगको सरकारले गरेको १ अर्ब २० करोड बढीको खरीद सम्झौता खारेज गरिसकेको छ । 

सरकारले आवश्यक मेडिकल सामाग्री ल्याउने जिम्मा सेनालाई दिने तयारी गरिरहेको समयमा भाटभटेनी समूहले ओम्नीसँग आफूहरुलाई जोडेर प्रचार गरिएको भन्दै आपत्ति जनाएको हो । 

भाटभटेनी समूहले  हाल विवादमा परेको ओम्नी समूहको कार्यालय पुल्चोकस्थित भाट भटेनीको माथिल्लो तल्लामा रहेको र उक्त संस्थाले सो स्थान प्रयोग गरेबापत भाटभटेनीलाई भाडा बुझाउने उल्लेख गर्दै विज्ञप्तिमा भनेको छ–‘भाडामा बसेको उक्त संस्थामा भाटभटेनी सुपर मार्केट्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक मिनबहादुर गुरुङको नाम समेत अनुचित र गलत तरिकाले जोडेर हाम्रो मानमर्दन गर्न केही संचार संस्था लागेकोमा हामी खेद प्रकट गर्दछौं । हाम्रो परिसरमा भाडामा बसेको संस्थाले गरेको कुनैपनि प्रकारको कामको भागिदार हामीलाई बनाउन खोज्नु पित पत्रकारिताको कुरुप नमुना मात्र हो ।’ 

विज्ञप्तिमा भाटभटेनी समूहले संसारभर फैलिएको र हाम्रो देशमा पनि आइपरेको कोभिड–१९को समस्यामा जुध्नका लागि आफ्नो क्षमताले भ्याएसम्म सहयोग गरिरहेको पनि प्रष्ट्याएको छ । ‘हाम्रो संस्थाले देशलाई कोरोनाको संक्रमणसँग लड्नका लागि प्रधानमन्त्री कोरोना संक्रमण रोकथाम तथा उपचार कोषमा रु एक करोडको आर्थिक सहयोग प्रदान गरिसकेको छ भने सातवटै प्रदेशमा रहेको कोरोना रोकथाम कोषमा प्रति प्रदेश रु. २५ लाख सहयोग गर्ने घोषणा पनि गरिसकेको छ ।’ विज्ञप्तिमा भनिएको छ–‘प्रदेशको कोषमा जम्मा गर्ने रकम चाँडैनै मुख्यमन्त्रीज्यूहरूलाई हस्तान्तरण गर्ने कार्य सम्पन्न गर्नेछौं । त्यस्तै अहिलेको अवस्थामा सर्वसाधारणलाई अत्यन्त आवश्यक पर्ने खाद्यान्न र सागसब्जी हामीले घर–घरमै पुर्याउने व्यवस्था गरिरहेको पनि जानकारी गराउन चाहन्छौं ।’