काठमाण्डौ । आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमासमा ओम डेभलपमेन्ट बैंकले नाफातर्फ सामान्य प्रगति गरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अविधमा ३९ करोड ४३ लाख खूद नाफा आर्जन गरेको बैंकले समीक्षा अवधिमा ४० करोड मात्र नाफा कमाएको हो । 

यो अवधिमा बैंकले ८४ करोड ६० लाख खूद ब्याज आम्दानी गरेको छ । २ अर्ब ४० करोड ब्याज आम्दानी गरे पनि खर्च १ अर्ब ५६ करोड भएका कारण खूद ब्याज आम्दानी उल्लेख्य हुन नसकेको हो । 

अघिल्लो वर्ष ५९ करोड ५१ लाखमा सीमित संचालन मुनाफा बढाएर यो बैंकले ६१ करोड ४७ लाखको उचाईमा पुर्याएको छ भने ३८ करोड ३७ लाखमा सीमित रिजर्ब कोषलाई बढाएर ८१ करोड ३० लाखको उचाई चुमाएको छ । 

समीक्षा अवधिमा ओम डेभलपमेन्ट बैंकले २१ अर्ब ४५ करोड निक्षेप संकलन गरी १८ अर्ब ३६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष १६ अर्ब ६ करोड निक्षेप संकलन गरी १४ अर्ब ५ करोड कर्जा परिचालन गरेको थियो । 

बैंकको कर्मचारी खर्च र अन्य संचालन खर्च अत्यधिक बढेकोले समेत भनेजस्तो नाफा कमाउन नसकेको देखिएको छ । 

समीक्षा अवधिमा बैंकले ०.९० प्रतिशत रहेको खराब कर्जाको अनुपातलाई घटाएर ०.५७ प्रतिशतमा झार्ने सफलता पाएको छ भने कोषको लागत खर्च ९.४१ प्रतिशत रहेको छ । 

नाफामा झिनो मात्र प्रगति भएको बैंकको प्रतिसेयर आम्दानी १४.१२ रुपैयाँबाट बढेर १५.९२ रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १३२.३३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.३१ गुणा कायम भएको छ ।