काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमीटेड र राष्ट्रिय बीमा कम्पनीबीच बीमा सेवा आदानप्रदान गर्ने सम्बन्धमा सहमति भएको छ । 

सहमतिमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिश्वमोहन अधिकारी र राष्ट्रिय बीमा कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. डिल्लीराज अर्यालले हस्ताक्षर गरेका छन् ।

सम्झौतामा बैंकले हालै मात्र बजारमा ल्याएकोे नयाँ बचत खाता “सुरक्षित जीवन बचत खाता“ खोल्ने ग्राहकहरुको रु सात लाखको दुर्घटना बीमा राष्ट्रिय बीमा कम्पनीमार्फत हुनेछ । 

त्यसैगरी उक्त दुर्घटना बीमा श्रम ऐन २०७४ ले तोकेबमोजिमकोे रहेको पनि बैंकले जनाएको छ । जसअनुसार संस्थाहरुले आफ्ना कर्मचारीहरुको खाता यसअन्तर्गत खोली कारोबार गरेमा ऐनले तोके बमोजिम दुर्घटनाको बीमा बैंकको तर्फबाट गरिदिने पनि बैंकले जनाएको छ ।

साथै यसअघि पनि बैंकले बैंकान्सुरेन्स सम्बन्धमा बिभिन्न जीवन तथा निर्जीवन बीमा कम्पनीहरुसंग सम्झौता गरी कारोबार गरिरहेको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।