काठमाण्डौ । ओम डेभलपमेन्ट बैंक लिमिटेडसँग मर्जर प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गर्न एनएमबी बैंक लिमिटेडले साउन २८ गते विशेष साधारणसभा डाकेको छ । 

विशेष साधारणसभामा विशेष प्रस्तावका रुपमा पेस हुने एनएमबी बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड आपसमा गाभ्ने÷गाभिने सम्बन्धमा सञ्चालक समितिका तर्फबाट प्रस्तुत प्रतिवेदन पारिन गर्ने तथा दुवै बैंक आपसमा गाभ्ने/गाभिने सम्बधमा भएका सम्झौता तथा निर्णयहरुलाई अनुमोदन गर्दै अन्तिम स्वीकृति प्रदान गर्नेछ । 

विशेष प्रस्तावका रुपमा राखिने गाभ्ने/गाभिने प्रयोजनका लागि मूल्यांकनकर्ता देव एसोसिएट्स, चार्टर्ड एकाउन्टेन्टसबाट प्राप्त गाभ्ने/गाभिने संस्थाको सम्पत्ति र दायित्वको मूल्यांकन प्रतिवेदन तथा सम्बद्ध व्यवस्थाका आधारमा निर्धारण गरिएको सेयर मूल्य अनुपात (सेयर स्वाप रेसियो) लाई पनि पारित गरिनेछ । 

बैंकको नियमावलीको नियम ३० (सञ्चालकको कार्यकाल) मा संशोधन गर्ने विशेष प्रस्ताव पनि विशेष साधारणसभाले पारित गर्नेछ । 

यी दुवै बैंकले निकै छोटो समयमै मर्जर प्रक्रिया टुंगाउने तयारी गरिरहेका छन् । मर्जर प्रक्रिया सकिएलगत्तै आगामी भदौ १ गतेदेखि एकीकृत वित्तीय करोबार थाल्ने बैंकले घोषणा गरिसकेको छ । 

मर्जरका लागि सबैभन्दा ठूलो चुनौति रहने कर्मचारी समायोजनको काम लगभग ९५ प्रतिशत सकिइसकेको स्रोतको भनाई छ । ‘ओम डेभलपमेन्ट बैंकका धेरै कर्मचारी पहिलाकै पोष्टमा रहन्छन् ।’ उच्च स्रोतले भन्यो–‘केहीको भने समायोजन हुनेछ ।’ 

गत जेठ २ गते दुवै बैंकले मर्जर सम्झौता गरेका थिए । प्राइम कमर्सियल बैंकसँग गत वर्ष भदौ ३ गते एक्वायरको सम्झौता गरेको ओम डेभलपमेन्ट बैंक सो प्रक्रिया टुटेपछि एनएमबीसँग मर्ज हुन लागेको हो। 

यी दुई बैंक मिलेर बन्ने एकीकृत संस्था निकै मजबुत हुने र अझ पृथक बन्ने दुवै बैंकका अधिकारीहरुले दाबी गरेका छन् । 

दुई बैंक एक भएपछि बन्ने संस्थाको शाखा संख्या १६३ पुग्नेछ भने ५ वटा एक्सटेन्सन काउण्टर र १२० वटा एटीएमको सञ्जाल हुनेछ ।

मर्जर पश्चात बैंकको कुल पूँजी तथा जगेडाकोषमा वृद्धि भई २० अर्ब ४२ करोड हुनेछ भने निक्षेप र कर्जाको आकार क्रमशः १ खर्ब १९ अर्ब र १ खर्ब १३ अर्बको उचाईमा पुग्नेछ । 

हाल एनएमबी बैंकको चुक्तापूँजी ९ अर्ब ६१ करोड रुपैयाँ रहेको छ भने ओमको दुई अर्ब ५१ करोड रुपैयाँ छ। स्वाप रेसियो ८० प्रतिशत भयो भने ओमको पूँजी घटेर २ अर्बको हाराहारीमा आउनेछ । यसरी दुई संस्था मर्ज भई बन्ने एकीकृत संस्थाको चुक्तापूँजी ११ अर्ब ६१ करोड माथि हुनेछ ।