काठमाण्डौ । गत सातादेखि नेपाली बजारमा सुनको भाउ ओरालो लाग्न थालेको छ । पछिल्लोपटक तोलाकै ७३ हजार ५०० रुपैयाँ पुगेर नेपालकै इतिहास उच्च विन्दु छोएको सुनको भाउ यो साता कारोबारको तेस्रो दिन मंगलबार पुनः ७१ हजार रुपैयाँ झरेको छ । यसले सुनको भाउ क्रमशः घट्दै गइरहेको संकेत गर्छ ।

सुनको भाउ तोलामा मंगलबार एकैदिन रु. ७०० ले घटेको छ । यो साता कारोबारको पहिलो दिन आइतबार तोलामा रु ५०० ले घटेको सुनको भाउ दोस्रो दिन सोमबार रु. २०० ले बढेकोमा पुनः तेस्रो दिन मंगलबार रु. ७०० घटेको हो । समग्रमा तीन दिनमा सुनको भाउ तोलामा रु १ हजारले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको भाउ तोलामा रु. ७०० ले घटेर प्रतितोला छापावाल सुन रु. ७१ हजार र तेजाबी सुन रु. ७० हजार ७०० रुपैयाँ कायम भएको छ । सुनको भाउ सोमबार प्रतितोला छापावाल र. ७१ हजार ७०० र तेजाबी रु. ७१ हजार ४०० मा कारोबार भएको थियो । हिजो सुन तोलामा रु. २०० रुपैयाँले बढेको थियो ।

त्यस्तै यो साता कारोबारको पहिलो दिन आइतबार सुनको भाउ प्रतितोला छापावाल रु. ७१ हजार ५०० र तेजाबी रु. ७१ हजार २०० कायम भएको थियो । सुनको भाउ आइतबार रु. ५०० ले घटेको छ ।

गत साता कारोबारको अन्तिम दिन शुक्रबार सुनको भाउ प्रतितोला छापावाल रु. ७२ हजार र तेजाबी ७१ हजार ७०० रुपैयाँ थियो ।