काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तयारी भइरहेको बेला त्यसलाई समेत प्रभावित पार्ने रणनीतिका साथ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बैशाख २८ गते नेपाल भ्रमणमा आउने भएका छन् ।

नेपालको तर्फबाट मोदीलाई जेठ ११ गते स्वागत गर्ने तयारी गरिए पनि त्यसअघि प्रधानमन्त्री ओली चीन जाने भएपछि त्यसलाई प्रभावित पार्ने गरी भारतीय पक्षले बैशाख २८ मै भ्रमणको प्रस्ताव गरेको हो । 

मोदी आफैंले आफू नेपालले प्रस्ताव गरेभन्दा अगाडि नै अर्थात बैशाख २८ गते नेपाल भ्रमण गर्न इच्छुक रहेको बताएपछि नेपालले समेत त्यसलाई स्वीकार गरेको छ । 

भारतले आफू अनुकुल मोदीको २ दिने नेपाल भ्रमणको मिति तय गरेपछि त्यसलाई प्रम ओलीले चूपचाप स्वीकार गरेका छन् । मोदीकै स्वागतकै लागि भन्दै उनले चीनको भ्रमण समेत केही पछि सार्ने निश्चित झै भएको परराष्ट्रस्थित स्रोतले जनाएको छ । स्रोतका अनुसार बैशाखको अन्तिम साता प्रधानमन्त्री ओलीले चीनको भ्रमण गर्ने तयारी थालिएको थियो । तर, भारतीय पक्षले सोही भ्रमण प्रभावित पार्ने रणनीतिका साथ प्रस्ताव गरेको नयाँ मिति नेपाल पक्षले चूपचाप स्वीकार गरेको बिषयलाई कतिपय विश्लेषकहरुले अर्थपूर्ण भनेका छन् ।

भ्रमणको औपचारिक घोषणा एकदुई दिनमै हुने स्रोतले जनाएको छ । यो पटक मोदी जनकपुर समेत पुग्नेछन् ।