काठमाण्डौ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरीदको डिलमा स्वीस कम्पनीका एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र, सूचना तथा संचार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बास्कोटाको पद धरापमा परेको छ । 

मन्त्री बास्कोटाले सेक्युरिटि प्रेस खरीदका लागि स्वीस कम्पनीका नेपाल एजेन्ट विजयप्रकाश मिश्र शर्मासँग ७० करोड कमिसन मागेको अडियो संचारमाध्यमहरुमा सार्वजनिक भएसँगै उनको पद संकटमा परेको हो । 

स्वीस कम्पनीसँग प्रारम्भिक डिल गरे पनि फाइनल डिल नभई मन्त्री बाँस्कोटाले ४ अर्ब बढी कमिसन आउने लोभमा जर्मनी कम्पनीसँग प्रेस खरीदका लागि डिल गरेपछि रिसाएको स्वीस कम्पनी पक्षधरले कमिसन मागेको अडियो सार्वजनिक गरेको हो । 

स्वीस कम्पनीका स्थानीय एजेन्टसँग प्रेस खरीदका लागि मन्त्री बास्कोटाले गरेको मोलमोलाईको अडियो पुरानो हो । यो अडियो प्रधानमन्त्री केपी शर्मा ओलीसम्म पनि केही हप्ताअघि नै पुगिसकेको बताइए पनि उनले यो विषयमा चासो नदिएपछि आफूहरुले बाध्य भएर मिडियालाई दिनुपरेको स्वीस कम्पनीका स्थानीय एजेन्टहरुले दाबी गरेका छन् । 

सेक्युरिटी प्रेस खरीदमा कमिसनको डिल प्रकरणले अहिले सामाजिक सञ्जाल तातेको छ । त्यहाँ अधिकांशले मन्त्री बाँस्कोटालाई बर्खास्त गर्न माग गरिरहेका छन् । 

यो विषयलाई लिएर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बास्कोटालाई तत्काल पदमुक्त गरी छानबिन गर्न सरकारलाई आग्रह गरेको छ । 

पूर्व माओवादी तथा पूर्व एमालेका धेरै नेताहरुले गोकुल बास्कोटालाई कारबाही हुनुपर्ने माग गरिरहेका छन् । 

चौतर्फी दवाब आएपछि नेकपामा अध्यक्ष प्रचण्डले यो विषयमा केपी शर्मा ओलीसँग प्रधानमन्त्री निवास बालुवाटार नै पुगेर छलफल गरिसकेका छन् । 

आफूमाथि लागेको आरोपको संचारमन्त्री बाँस्कोटाले खण्डन गरिसकेका छन् । तर, त्यसको आधार बलियो नभएका कारण आज साँझसम्म उनको राजीनामा आउनसक्ने स्रोतहरु दाबी गर्छन् । 

उनी विभिन्न कार्यक्रममा सहभागी हुन सुदुरपश्चिम गएका र आजै काठमाण्डौ फर्किने कार्यक्रम रहेको प्रधानमन्त्रीनिकट स्रोतले जनाएको छ । बाँस्कोटा काठमाण्डौ फर्किएपछि यो विषयमा क्याबिनेटमै छलफल हुनेछ । नेकपाका दुई अध्यक्षले समेत यो विषयमा सोधपुछ गरी आवश्यक निर्णय लिन सक्ने बताइएको छ ।