काठमाण्डौ । बाम गठबन्धनको तर्फबाट केपी शर्मा ओलीलाई राष्ट्रपतिले प्रधानमन्त्रीमा नियुक्त गरेको खबरले बजारमा उत्साह सिर्जना गरेको छ । लामो समयदेखि बजारको पक्षमा वकालत गर्दै आएका एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएपछि सेयर बजारकै लागि स्वर्णिम युुग हुने आशामा लगानीकर्ताहरु एकाएक सक्रिय हुँदा नेप्से परिसूचक(इण्डेक्स) ३६.०१ अंकले बढेको छ भने कारोबार रकम पनि बढेर ६६ करोड ३९ लाख ५६ हजार २ सय ४९ रुपैयाँको उचाईमा पुुगेको छ।

प्रधानमन्त्री बन्नुुअघि ओलीले लगानीकर्ताका हरेक पटकको भेटमा सेयर कारोबारमा कुनै पनि हालतमा कर लगाउन नहुने तर्क पेश गर्दै आएका छन् । 

लामो समयसम्म ‘पर्ख र हेर’को रणनीतिमा रहेका लगानीकर्ता समेत ओलीको नियुक्ति लगत्तै खरिदारीमा सक्रिय हुँदा परिसूचक र कारोबारमा एकाएक उछालको अवस्था देखिएको हो । 

यो दिन बजारका सबै समूहको सूचकमा राम्रो बढोत्तरी भएको छ । विकास बैंक, माइक्रोफाइनान्स र बिमा समूहमा सबैभन्दा ठूलो बढोत्तरी देखिएको छ । माइक्रोफाइनान्स समूह ६२.९१(३.७८ प्रतिशत), बिमा समूह २१३.९५(३.०२ प्रतिशत) र विकास बैंक समूह ५५.५(३.५३ प्रतिशत) अंकले बढे । 

यस्तै, बैकिङ समूह ३१.३९ अंकले बढ्यो भने व्यापार समूह ५.९९, होटल समूह २२.९६, जलविद्युत समूह ४९.०४, बित्त समूह १७.५५, उत्पादमूलक ५०.७५ र अन्य समूह ७.३६ अंकले बढे । 

यो दिन ‘क’ वर्गका कम्पनीहरुको कारोबारमा उछाल आएका कारण सेन्सेटिभ इण्डेक्स ७.७२ अंकले बढेको छ भने समग्र कारोबार मापक फ्लोट इण्डेक्समा २.८७ प्रतिशतको बढोत्तरी देखिएको छ । 

धेरै कारोबार गर्ने कम्पनी
यो दिन बजारमा १६५ कम्पनीका १५ लाख ६ हजार ६ सय ३४ कित्ता सेयर ६६ करोड ३९ लाख ५६ हजार २ सय ४९ रुपैयाँमा कारोबार भयो । 

यो दिन सबैभन्दा धेरै कारोबार कुमारी बैंक लिमीटेडले गर्यो । यो कम्पनीले ३ करोड ४८ लाख बढीको सेयर कारोबार गर्यो । यस्तै, इन्भेष्टमेन्ट बैंकले ३ करोड ५ लाख, नेपाल लाइफ इन्स्योरेन्सले २ करोड ८६ लाख, सानिमा बैंकले २ करोड ३९ लाख, नवील बैंकले २ करोड ३ लाख, राष्टिय बिमा कम्पनीले १ करोड ७७ लाख, नेपाल बैंकले १ करोड ६८ लाख, एभरेष्ट बैंकले १ करोड ६६ लाख, एनएमबी बैंकले १ करोड ५२ लाख बढीको सेयर कारोबार गरे । 

धेरै कमाउने र गुमाउने कम्पनी
यो दिन श्री इन्भेष्टमेन्ट फाइनान्सका लगानीकर्ताले कुस्त कमाए । यो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भयो । अरुण फाइनान्सका लगानीकर्ताले पनि १० प्रतिशतकै हाराहारीमा कमाए । यस्तै, मेरो माइक्रोफाइनान्स बित्तीय संस्थाको मूल्य पनि ९ प्रतिशतको हाराहारीले बढ्यो । 

यो दिन एनएमबी सुलभ इन्भेष्टमेन्ट फण्ड १ को इकाई मूल्य धेरै घट्यो । यो कम्पनीको इकाई मूल्यमा ४ प्रतिशतको हाराहारीमा गिरावट आयो ।