काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि गलत मनशायका साथ जम्मा गरिएको कालो धनका पक्षमा आफू र आफ्नो सरकार नरहने बताएका छन् । 

उनले आफूले विगतमा फरक प्रसंगमा बोलेको विषयलाई गलत तवरले प्रचार गरिएको भन्दै दुःख समेत प्रकट गरे । 

उनले केही दिनअघि व्यापारीहरुको एक कार्यक्रममा बोल्दै कालोधनको पक्षमा वकालत गरेका थिए । त्यसबेलाको ओलीको बोली निकै विवादित र आलोचित भएको थियो । उनलाई कतिपयले कालोधन जम्मा गर्ने व्यापारीहरुको चंगुलमा फसेको भन्दै कटु आलोचना समेत गरेका थिए । ओलीले प्रधानमन्त्री भएपछिको आफ्नो पहिलो बोलीमै कालोधनको बिषयमा आफू सकारात्मक रहेको भन्ने प्रचारबाजीलाई खण्डन गरेका हुन् । 

ओलीले स्वदेशभित्रैको सानो पूँजी परिचालन गरेर जलविद्युत् क्षेत्रको विकास र आर्थिक समृद्धिको मार्गमा मुलुकलाई अगाडि बढाउन सकिने र सरकार सो दिशामा समेत क्रियाशील रहने प्रष्ट्याएका राससले जनाएको छ ।

उनले जनतालाई परिवर्तनको महसुस हुने गरी काम गर्ने विश्वास व्यक्त गर्दै स्वदेशमा नै रोजगारीको वातावरण बनाउने र विदेशमा रोजगारीको खोजीमा गएका युवालाई स्वदेशमा फर्काउने प्रयास गरिने दाबी समेत गरे । उनले कानुनको राज, पारदर्शिता र स्वच्छतामा कुनै पनि सम्झौता नहुने बताउँदै गलत मनशायका साथ हुने कुनै पनि कामकारवाहीमा सरकार चुप लागेर नबस्ने प्रष्ट पारे ।

प्रम ओलीले संघीय संसद् भवन निर्माणको प्रक्रिया आजैदेखि शुरु भएको जानकारी पनि दिए । “सरकारले आगामी दुई वर्ष्भित्र संघीय व्यवस्थापिका–संसद्को भवन निर्माण गर्ने गरी आजैको मितिदेखि काम शुरु गरेको छ”, प्रधानमन्त्रीले भने । अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई तत्कालका लागि प्रयोग गरिए पनि त्यसलाई तिरिएको भाडाबाट अरु भवन बनिसक्ने अवस्था छ भन्दै प्रधानमन्त्रीले संसद् भवन निर्माणलाई विशेष प्राथमिकता दिइने र दुई वर्षभित्र कुनै पनि शर्तमा निर्माण सम्पन्न गरेरै छाडिने दृढता व्यक्त गरे । 

शिक्षा, स्वास्थ्य, खानेपानी जस्ता विकासका कामको प्रत्याभूति नेपाली जनतालाई हुने गरी काम गरिने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पर्यटन तथा सेवा क्षेत्रको विकास, आन्तरिक तथा बाह्य लगानी वृद्र्धि, उद्योग व्यवसायलाई बढावा दिने लगानीमैत्री वातावरण सिर्जना, अर्थतन्त्रको सबै क्षेत्रलाई गतिशील बनाएर रोजगारीको अवसर सिर्जना र आर्थिक समृद्धि गर्ने लक्ष्यका साथ सरकार अगाडि बढ्ने बताए ।

ओलीले कानुनको शासन, विधि र न्यायमा कुनै पनि भेदभाव नगरिने तथा राजनीतिक आस्था र विचारका आधारमा कोहीकसैलाई पनि विभेद नगरिने स्पष्ट गर्दै भन्नुभयो, “सरकार सबैलाई समान व्यवहार गर्छ, कोही कसैलाई पनि तलमाथि, हुने, असमानता महसुस हुने काम गर्दैन तर भ्रष्टाचार, अनियमितता, कानुनविपरीत हुने कुनै पनि काममा सम्झौता गर्दैन । भ्रष्टाचारमा पूर्ण रुपमा शून्य सहनशीलताको व्यवहार गर्दछ ।”