काठमाण्डौ । नेकपाको सचिवालय बैठकले बहुप्रतिक्षित नयाँ मन्त्रीहरुको विषयमा कुनै निर्णय गर्न सकेन । 

नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले बिजशालालाई दिएको जानकारी अनुसार मन्त्रीहरुको हेरफेरको अधिकार प्रधानमन्त्रीको भएकोले ओलीले सकेसम्म चाँडै यो विषयमा निर्णय लिने अपेक्षा व्यक्त गरे । 

उनका अनुसार पार्टी सचिवालय बैठकले मन्त्रीमण्डल पुनर्गठन भन्दा पनि दुई अध्यक्ष(ओली र प्रचण्ड)बीचको शक्ति बाँडफाँडको विषयमा बढी केन्द्रीत भएको थियो । 

सचिवालयले पार्टीको कार्यकारी अधिकार पुष्पकमल दाहाल(प्रचण्ड)लाई दिने निर्णय गरेको छ भने सरकारको नेतृत्व ५ वर्षसम्मै केपी शर्मा ओलीले गर्नेछन् । 

यो निर्णयसँगै विगत लामो समयदेखि चलिरहेको ओली र प्रचण्डको शक्ति बाँडफाँडको लफडा अन्त भएको छ । 

विगत केही दिनअघिदेखि प्रचण्ड र ओलीबीच यो विषयमा घनिभूत छलफलहरु भइरहेका थिए । प्रचण्डले मन्त्रीमण्डल पुनर्गठनसँगै आफूले कार्यकारी अधिकार पाउनुपर्ने अडान लिइरहेका थिए । 

ओली अस्वस्थ भएका कारण र मृगौला प्रत्यारोपको संभावना रहेकोले समेत पार्टी संचालनमा कुनै बाधा नपुगोस् भनेर प्रचण्डलाई कार्यकारी अधिकार दिने विषयमा सहमत भएको स्रोतहरु बताउँछन् । 

यसअघि साउन अन्तिम साता दुई अध्यक्षबीच कार्यविभाजन गर्ने र त्यसमा एकले सरकारको नेतृत्व र अर्काले पार्टीको नेतृत्व गर्ने सहमति भएको थियो ।

नयाँ कार्य्विभाजन अनुसार वरियता भने दुई अध्यक्षको वरियता समान हुनेछ । त्यस्तै, आपसी समझदारीका आधारमा निर्णय लिइनेछ ।