काठमाण्डौ । उद्योगी व्यवसायीले औद्योगिक व्यवसाय ऐनले उत्पादनमूलक उद्योगहरुका लागि दिएको आयकर सुविधा उपलब्ध गराउन माग गरेको छ ।

नेपालउद्योग परिसंघको प्रतिनिधि मण्डलले अर्थ सचिव शंकरप्रसाद अधिकारी र राजश्व सचिव शिशिर ढुंगानासँग पुस २४गते अर्थमन्त्रालयमा भेट गरी यस्तो माग गरेको हो ।

परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमागएको टोलीले दुवै सचिवहरुसँगको संयुक्त भेटमा २०७३  मंसिरदेखि कार्यान्वयनमा आइसकेको औद्योगिक व्यवसाय ऐनको दफा २२ को उपदफा (१) को खण्ड (क) मा उत्पादनमूलक उद्योगबाट आर्जित आयमा लाग्ने करको २० प्रतिशतले छुट पाउने स्पष्ट व्यवस्था गरेकोले यसमा सोही अनुसारको छुट हुनुपर्ने माग गरेको हो ।

नेपाल उद्योग परिसंघले विगतदेखि नै तीब्र एवं दीगो औद्योगिक विकासका लागि उत्पादनमूलक उद्योगहरुलाई करका दरमा छुट तथा सुविधा उपलब्ध गराउन नेपाल सरकारसमक्ष माग गर्दै आएको हो । यसै सन्दर्भमा औद्योगिक व्यवसाय ऐन २०७३ ले व्यवस्था गरेको छुट तथा सुविधाहरु उद्योगले उपभोग गर्न पाउनुपर्ने र उद्योगहरुको कर छुटको मूल्याङ्कन गर्दा औद्योगिक व्यवसाय ऐन २०७३ को व्यवस्था अनुसार नै गर्न पाउने व्यवस्था हुनुपर्ने र आयकर ऐनले उत्पादनमूलक उद्योगलाई समेत विशेष उद्योगमा वर्गीकरण गरेको यथार्थतमा उद्योगको आयमा लाग्ने आयमा आयकर ऐन र औद्योगिक व्यवसाय ऐनमा छुट्टा–छुट्टै प्रावधानबाट द्विविधा रहेको देखिएकाले औद्योगिक व्यवसाय ऐनको प्रावधान अनुसार नै २० प्रतिशत छुटको व्यवस्था हुनु पर्ने माग परिसंघबाट गरिएको छ ।

साथै उत्पादनमूलक उद्योगहरुले उक्त सुविधा उपभोग गर्न ईफाईलिङ अनुसार नसक्ने भएकाले सो सम्बन्धी निर्णय नहुञ्जेलसम्म म्यानूअल फाईल पेश गर्न पाउने व्यवस्थाका लागि अनुरोध गर्दै राजश्व कार्यालयहरुले म्यानुअल फाइल समेत लिने व्यवस्था गरी आन्तरिक राजश्व विभागबाट उक्त कार्यालयहरुलाई निर्देशन दिन समेत माग गरिएको छ ।