काठमाण्डौ । अमेरिकी न्यायाधीशले औषधि निर्माता कम्पनी ‘जनसन एन्ड जनसन’ लाई एउटा मुद्दामा हालसम्मकै ठूलो जरिवानाको आदेश दिएका छन् ।

कम्पनीबाट उत्पादितओपियोड नामक औषधिले लत लाग्ने सङ्कट निम्त्याएको मुद्दामा दोषी ठहर गर्दै अमेरिकी न्यायाधीशले हालसम्मकै ठूलो ५७.७२ लाख डलर जरिवानाको आदेश दिउका हुन्। अदालतबाट निर्णय आउने बित्तिकै कम्पनीले त्यसविरुद्ध पुनरावेदन दिने जनाएको छ।

ओपियोड निर्माता र वितरकविरुद्ध लगाइएको हजारौँ मुद्दामध्ये सुनुवाइमा गएको यो पहिलो मुद्दा हो।

बीबीसीका अनुसार न्यायाधीश थाड बाल्कम्यानले जनसन एण्ड जनसनले उसको दुखाइ रोक्ने औषधीको भ्रामक प्रचारप्रसारमार्फत सर्वसाधारणलाई ओपियोडको कुलतमा फसाउन जिम्मेवार भएको बताएका हुन्। 'त्यस्तो कार्यले गर्दा हजारौँ ओक्लाहोमावासीले आफ्नो स्वास्थ्यसँग सम्झौता गरे। ओपियोड सङ्कट ओक्लाहोमाबासीका लागि संघारमै रहेको खतरा छ', उनको आदेशमा भनिएको छ।

बाल्कम्यानले जनसन एण्ड जनसनले तिर्ने रकम ओपियोडको कुलतमा परेकाहरूको उपचार र हेरचाहमा प्रयोग गरिने बताएका छन्।

सन् २००० यता करिब ६ हजार ओक्लाहोमाबासीहरूले ओपियोड बढी मात्रामा प्रयोग गरेका कारण ज्यान गुमाएका उक्त राज्यका वकिलहरूले बताएका छन्।

अमेरिकाको रोग नियन्त्रण निकायको तथ्याङ्क अनुसार सन् १९९९ देखि २०१७ सम्म ओपियोडको अत्यधिक मात्राको प्रयोगका कारण चार लाख मानिसहरूको मृत्यु भएको थियो।

यस्तैखाले अरू दुई हजारवटा मुद्दाको सुनुवाइ आउँदो अक्टोबर महिनामा ओहायो राज्यमा हुँदैछ। त्यसैले पनि यो मुद्दाको परिणाम के हुन्छ भनेर अरू मुद्दाका वादी पक्षले नजिकबाट हेरिरहेका छन्।