काठमाण्डौ । कच्चा तेलमा जारी मूल्य गिरावटलाई रोक्न तेल उत्पादक देशहरुको संगठन(ओपेक) उत्पादन कटौतिका लागि तयार भएको छ । 

दुई दिनसम्म चलेको बैठकमा ओपेक देशबीच १२ लाख ब्यारेल प्रतिदिन कच्चा तेल उत्पादनमा कटौति गर्ने सहमति बनेको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । 

कटौतिको यो परिमाण अपेक्षा गरिएभन्दा निकै धेरै हो । यहीकारण यो खबर आएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा ५.४ प्रतिशतसम्म उछाल आएको छ । यसले भारतले आयात गर्ने कच्चा तेलको मूल्य समेत बढाउनेछ र नेपालले भारतबाट खरीद गर्ने तयारी इन्धनको मूल्य समेत बढ्ने देखिएको छ । अब फेरि पेट्रोलियम पदार्थको मूल्य बृद्धिको क्रम पुनः सुरु हुनसक्ने विश्लेषकहरुले बताएका छन् । 

ओपेक तथा उसका पार्टनर देशले दैनिक १२ लाख ब्यारेल कच्चा तेलको उत्पादन कटौति गर्ने सहमति बनेकोमा ८ लाख ब्यारेल कटौति ओपेक देशहरुले मात्र गर्नेछन् । यो कटौतिले इरानलाई भने फाइदा पुग्ने विश्लेषण गर्न थालिएको छ । इरानले भनेको छ कि यो कटौतिबाट उसलाई छुट हासिल हुनेछ किनभने उसले पहिलादेखि नै अमेरिकी प्रतिबन्धको सामना गर्दै आएको छ । 

यो खबर प्रकाशित भएसँगै लण्डनमा कच्चा तेलको मूल्य ५.४ प्रतिशतले वृद्धि भएको एजेन्सीहरुले जनाएका छन् । ओपेक देशहरुको यो निर्णयबाट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको आक्रोशको पारो बढ्नसक्ने आशंका गर्न थालिएको छ । किनभने ट्रम्पले विगत लामो समयदेखि कच्चा तेलको उत्पादनमा कटौति नगर्न र मूल्य सस्तो बनाइराख्ने कार्यमा सहयोग गर्ने ओपेकलाई आह्वान गर्दै आएका थिए ।

यो निर्णय गराउनु पछाडिको रणनीति रुसको रहेको दाबी गरिएको छ । उसले आफ्ना कट्टर विरोधी मानिने साउदी अरब र इरानलाई समेत यो निर्णयमा सहमत गराउन सफल देखिएको छ ।