काठमाण्डौ । साउदी अरबको तेल प्लान्टमा भएको हमलापछि पेट्रोलियम पदार्थको भाउमा लागेको आगोले सबैको टेन्सन बढाइदिएको छ । 

सोमबार विश्व बजारमा कच्चा तेलको मूल्यमा १९ प्रतिशतसम्मको उछाल देखियो । सन् १९९१ को खाडी युद्धपछि यो एकदिनमै कच्चा तेलको मूल्यमा आएको सर्वाधिक उछाल रहेको ब्लुमबर्गले जनाएको छ । 

कच्चा तेलको मूल्यमा भइरहेको भारी वृद्धिले भारतबाट नेपाल आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा समेत भारी वृद्धि हुने आशंका गर्न थालिएको छ।

यसले भारतसँगको व्यापार घाटा अझै बढाई उच्च आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्ने दौडमा रहेको सरकारका अगाडि समेत चुनौतिको पहाड खडा गरिदिनसक्ने संभावना बढेको छ । 

साउदीको तेल उद्योगकै केन्द्रमा ड्रोन हमलापछि पहिलोपटक खुलेको बजारमा ग्लोबल बेञ्चमार्क ब्रेन्ट क्रूड १९ प्रतिशत महङ्गो भई प्रति ब्यारेल ७२ डलरसम्म पुगेको थियो, तर फेरि करेक्सन भई ६७ डलरमा सीमित बन्न पुग्यो । 

ड्रोन हमलापछि साउदी अरेबियाको तेल उत्पादन करिब आधाले घटेको अन्तराष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । साउदी अरेबियाले विश्व बजारमा दैनिक रुपमा सप्लाई हुने पेट्रोलियम पदार्थको ६ प्रतिशत हिस्सा ओगट्दछ ।

अन्तराष्ट्रिय विश्लेषकहरुले साउदी संकटले कुवेत तथा इराकको तेल उत्पादनमा सन् १९९० अगस्टमा भएको नोक्सानीको स्तरलाई समेत तोडेर माथि पुगेको बताएका छन् । सो बेला सद्धाम हुसैनले आफ्नो छिमेकीमाथि आक्रमण गरेका थिए । 

सन् १९७९ मा इस्लामिक क्रान्तिका दौरान इरानी तेल उत्पादनमा आएको घाटाको ग्राफलाई समेत अहिलेको साउदी अरबको घाटाको ग्राफले माथ खुवाइदिएको छ । 

तथापि, ब्लुमबर्गको एक रिपोर्टअनुसार तेल उत्पादक देशहरुको संगठन ओपेकका महासचिव मोहम्मद बरकिन्डोले प्यानिक हुनुपर्ने आवश्यकता नरहेको दाबी गरेका छन् । 

भारतीय तेल बजार विश्लेषकहरुका अनुसार आगामी १५ दिनभित्रमा भारतको घरेलु बजारमा पेट्रोलियम पदार्थको मूल्यमा प्रतिलिटरमै भारु ६ सम्मको बढोत्तरी हुनसक्ने दाबी गरेका छन् । यदि यस्तो भयो भने नेपाल आयात हुने पेट्रोलियम पदार्थको मूल्य समेत एकैपटक ह्वात्तै बढ्ने निश्चित देखिन्छ। 

आयल निगमका एक अधिकारीकाअनुसार भारतीय बजारमा तेलको मूल्यमा ६ भारुले बढोत्तरी भयो भने नेपालको बजारमा समेत पेट्रोल र डिजेलको मूल्यमा प्रतिलिटर एकैपटक १० रुपैयाँसम्म वृद्धि गर्नुपर्ने हुनसक्छ ।

नेपाललाई आवश्यक पर्ने पेट्रोलियम पदार्थ भारतबाट आयात हुने गर्दछ । भारतले समेत आफ्नो मागको ८३ प्रतिशत कच्चा तेल अरु देशहरुबाटै आयात गर्छ । अरुबाट आयात भएको तेललाई तयार गरी भारतले नेपाललाई राम्रै फाइदा राखेर बिक्री गर्दछ । यसकारण भारतमा हुने मूल्यवृद्धिको प्रत्यक्ष असर नेपालमा पनि पर्दछ । 

यसले नेपालमा समेत पेट्रोलियम पदार्थको मूल्यवृद्धि त हुन्छ नै, भारतसँगको बढ्दो व्यापार घाटा समेत अझै बढेर जानेछ । लामो समयसम्म यो अवस्था रह्यो भने यसकै कारण सरकारले राखेको ८.५ प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्यमै समेत धक्का पुग्नसक्ने विश्लेषकहरुले अनुमान लगाउन थालेका छन् ।

पेट्रोलियम पदार्थ आयातको एउटा प्रमुख कारण नेपालको चालु खाता घाटा तीव्र रुपमा बढिरहेको छ । २०७६ को असार मसान्तसम्म चालु खाता रु.२६५ अर्ब ३७ करोडले घाटामा रहेको छ । सोही अवधिसम्म शोधनान्तर स्थिति रु.६७ अर्ब ४० करोडले घाटामा रहेको छ । 

यसले कुल विदेशी विनियम सञ्चितीमा पनि निकै ठूलो प्रभाव परिरहेको छ । नेपाल राष्ट्रबैंकका अनुसार कुल विदेशी विनिमय सञ्चिति २०७५ असार मसान्तमा रु.११०२ अर्ब ५९ करोड रहेकोमा २०७६ असार मसान्तमा रु.१०३८ अर्ब ९२ करोड रहेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति २०७५ असार मसान्तमा १० अर्ब ८ करोड रहेकोमा २०७६ असार मसान्तमा ९ अर्ब ५० करोड रहेको छ ।

त्यसै पनि चौपट बन्दै गएको अर्थतन्त्रको बाह्य क्षेत्रलाई पेट्रोलियम पदार्थको मूल्यमा एकैपटक प्रतिलिटर १० रुपैयाँसम्म वृद्धि भयो भने निकै ठूलो नकारात्मक प्रभाव पार्ने देखिन्छ । 
(एजेन्सी इनपूट)