काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा बितेको एक महिनाको अवधिमा करिब २० प्रतिशतको गिरावट आइसकेको छ । सबैभन्दा धेरै गिरावट गत १५ दिनमा आएको छ । 

कच्चा तेलको मूल्यमा यसरी तीव्र गिरावट आउनु पछाडिको मुख्य कारण चीनमा फैलिएको कोरोना भाइरसको प्रकोप रहेको बताइएको छ । यसले चीनको अर्थव्यवस्थामै निकै ठूलो प्रभाव पार्नसक्ने विश्लेषण समेत हुन थालिसकेको छ । 

अन्तराष्टिय बजारमा शुक्रबार कच्चा तेलको मूल्य प्रति ब्यारेल ५४.४५ डलरमा सीमित बन्न पुगेको छ । एक महिनाअघि ८ जनवरीमा कच्चा तेलको मूल्य प्रति ब्यारले ६५.४४ डलरको उचाईमा थियो । यसरी एक महिनाको अवधिमा कच्चा तेलको मूल्यमा २० प्रतिशतको पहिरो गएको देखिएको छ । 

आठ जनवरीमै कायम भएको कच्चा तेलको उच्च मूल्य ७१.७५ डलर प्रति ब्यारेलसँग तुलना गर्ने हो भने तेलको मूल्यमा ३० प्रतिशतको गिरावट आइसक्यो भन्न सकिन्छ । 

यसैगरी, अमेरिकामा उत्पादन हुने कच्चा तेलको मूल्यमा समेत उस्तै गिरावट आएको छ । शुक्रबार त्यहाँ उत्पादित तेलको मूल्य प्रति ब्यारेल ५०.३६ डलरमा सीमित भइसकेको छ, जसको मूल्य ठीक एक महिनाअघि प्रति ब्यारेल ५९.६१ डलरको उचाईमा थियो । 

विश्लेषकहरुका अनुसार चीन विश्वमै कच्चा तेलको ठूलो खरीदकर्ता देश हो । कोरोना भाइरसका कारण त्यहाँको अर्थव्यवस्था प्रभावित भएपछि त्यहाँबाट हुने कच्चा तेलको माग ह्वात्तै घटेको छ । अन्तराष्ट्रिय बजारमा घटिरहेको तेलको मूल्यका कारण नेपालमा भारतबाट आयात हुने तयारी तेलको मूल्य समेत घटिरहेको छ । यसले ढुवानी खर्च घटाई समग्र उपभोक्ता मुद्रास्फिति कम हुने र सामान्य मानिसको दैनिक भान्सा केही सस्तिने आशा गर्न सकिन्छ ।