काठमाण्डौ । कच्चा तेल(क्रूड)को मूल्यमा तीव्र उछाल आएसँगै आयातकर्ता देशहरुको तनावको पारो बढ्न थालेको छ । मंगलबार ब्रेण्ट क्रूडको मूल्य अढाईवर्षअघिकै उचाईमा पुगेको छ । 

कारोबारका क्रममा क्रूडको मूल्य ६५.७० डलर प्रतिब्यारेलसम्म पुुगेको छ । यसअघि कच्चा तेलको मूल्य सन् २०१५ जुन २४ का दिन यही स्तरमा पुुगेको थियो । पछिल्लो ६ महिनाको कुरा गर्ने हो भने क्रूडको मूल्यमा ४७ प्रतिशत भन्दा धेरैको उछाल आइसकेको छ । जुन महिनाको क्रूडको भाउ प्रति ब्यारेल ४४.४८ डलरको स्तरमा सीमित थियो ।

किन आयो उछाल ?
ब्रिटेनको उत्तरी सागरको प्रमुख तेल पाइपलाइन मर्मतका लागि बन्द गरिएको छ । यहीकारण क्रूडको मूल्यमा तीव्र उछाल आइरहेको छ । जानकारी अनुसार फोर्टाइस आयल तथा ग्यास पाइपलाइनमा दरार परेका कारण सोमबार यसलाई बन्द गरिएको हो । 

यो ब्रिटेनको प्रमुख पाइपलाइन हो, जसको माध्यमबाट प्रत्येक दिन ४ लाख ५० हजार ब्यारेल क्रूड उत्तरी समुन्द्रबाट स्कटल्याण्डको प्रोसेसिङ प्लान्टसम्म पुुग्छ । 

यस्तै, तेल उत्पादक देशहरुको संगठन ओपेकले क्रूडको उत्पादनमा गरिरहेको कटौतिलाई भविष्यमा समेत जारी राख्ने निर्णयका कारण समेत बजारको आपूर्ति प्रभावित भएको छ । 

अझै बढ्नसक्छ भाउ
पाइपलाइनको प्रबन्धक कम्पनी इनोसलाई उद्धृत गर्दै मिडिया रिपोर्टमा भनिए अनुसार पाइपलाइनमा आपूर्तिको दवाब कम गर्ने बाबजुद दरार बढेको छ । यहीकारण मर्मतका लागि पाइपलाइन बन्द राख्ने निर्णय गरिएको हो । यो पाइपलाइन कमसेकम २ हप्तासम्म बन्द रहनेछ । यहीकारण आगामी दिनमा कच्चा तेलको मूल्यमा अझै उछाल आउने विज्ञहरुले बताएका छन् ।